|

सर्लाही : जिल्लाको बागमतीमा मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ परेका छन्।

बागमती नगरपालिका १२ स्थित कर्मैया हथिऔल क्षेत्रीय सडकअन्तर्गत गोडारीपुलमा दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएर चोरी गर्दै गरेका पाँचजना पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा बागमती नगरपालिका १२ का २० वर्षीय मन्दिप सिङतान, ३० वर्षीय लालबहादुर घिसिङ, २२ वर्षीय उमेश मली, २८ वर्षीय वीरबहादुर नेगी र रौतहट चन्द्रपुर नगरपालिका १ का २७ वर्षीय मन्दिप श्रेष्ठ रहेका छन्।

बिहीबार राति उनीहरूले रौतहटबाट जन्ती गएर फर्किदै गरेका दुई जनालाई नियन्त्रणमा लिएर मोटरसाइकल चोरी गरेका थिए। ना ४ ख ९४३६ र प्रदेश २०३०००१ प ३८५८ नम्वरको मोटरसाइकललाई नियन्त्रणमा लिएर मोटरसाइकल चालकहरू बागमती नगरपालिका ४ का विनोद जर्गामगर र बागमती नगरपालिका ५ का सिमबहादुर जिम्बालाई कुटपिट समेत गरेका थिए।

हेल्मेट प्रहारबाट मगर र जिम्बाको टाउकोमा चोट लागेको छ। घटनाको बारेमा जानकारी पाउनासाथ तत्कालै इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाको टोली घटनास्थलमा पुगेको थियो।

चोरी भएको ठाउँ नजिकैबाट प्रहरीले मोटरसाइकल बरामद गरी चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ। चोरी भएका दुईवटा मोटरसाइकलसहित उनीहरूले प्रयोग गरेको ना २८ प ४३४५ ना ४९ प ७९०, र बा ८२ प ३१८०  नम्वरको मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाइ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको प्रहरी निरीक्षक सुवास भट्टराईले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.