काठमाडौं : मधेशी मोर्चाआबद्ध संघीय गठबन्धनले संविधान संशोधन विधेयकमा पेश गर्ने परिमार्जनका विषयमा छलफल थाल्ने भएको छ। बुधबार दिउँसो १२ बजे संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा बस्ने गठबन्धनको बैठकले परिमार्जनका विषयमा छलफल गर्ने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए।
गठबन्धनको माग सम्बोधनका लागि सरकारले मंसिर १४ गते संशोधन प्रस्ताव दर्ता गरे पनि एमालेसहितका प्रतिपक्षीको अवरोधका कारण संसदमा पेश हुन सकेको छैन।
सर्वोच्च अदालतले प्रक्रिया रोक्न नपर्ने आदेश दिएपछि संशोधन प्रस्ताव अघि बढ्ने संकेत देखिएको भन्दै गठबन्धन परिमार्जनबारे छलफलमा जुटेको हो। सरकारले ल्याएको संसोधन विधयेकले मधेशी र जनजातिका माग सम्बोधन नगर्ने भन्दै गठबन्धनले विधयेक परिमार्जन गर्नुपर्ने माग गर्दै आएको छ।
बैठकमा सर्वोच्च अदालतको आदेश, सोमबार तराईका जिल्लामा भएका खबरदारी सभाको समीक्षा, थप दबाबका कार्यक्रमबारे छलफल हुने सुमनले बताए।
संघीय गठबन्धनको बैठकपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्ने छ। ३ बजे तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने मोर्चाका नेताहरूले बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।