|

डडेल्धुरा : डडेल्धुराको आधा जति जनसंख्या रहेको भित्रीमधेस क्षेत्रमा रहेको जोगबुडा अस्पताल चिकित्सकविहीन बनेको छ। जिल्ला अस्पताल बराबर १५ शैय्याको जोगबुडा अस्पताल चिकित्सकविहीन बनेसँगै सुनसान बनेको छ।

भित्री मधेस जोगबुडाको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको प्रमुख उपचार केन्द्रका रुपमा रहेको जोगबुडा अस्पतालमा रहेका एक मात्र चिकित्सक करुणा बज्राचार्य समायोजन भएर गएपछि अस्पताल चिकित्सकविहीन भएको हो।

चिकित्सक बज्राचार्य समायोजन भएर गएको करिब तीन साता भएको छ। उनि गएसँगै अस्पताल तीन सातादेखि चिकित्सकविहीन बनेको हो।

हेल्थ असिस्टेण्डको भरमा अस्पताल

एकजना नवौँ तह र दुई जना मेडिकल अधिकृतको दरबन्दी रहेको जोगबुढा अस्पताल अहिले तीन साता यतादेखि हेल्थ असिस्टेण्टको भरमा संचालन भइरहेको छ।

देशैभर डेंगु, स्क्रब टाइफस र भाइरल ज्वरोका बिरामीको चाप बढेका समयमा जोगबुडा अस्पताल चिकित्सकविहीन हुँदा बिरामीलाई उपचारका लागि समस्या भइरहेको छ। जोगबुडा अस्पतालमा परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिकाको रुपाल क्षेत्रलगायतका सेवाग्राही आउने गर्दछन्।

आजभोलि दैनिक रुपमा एक सयदेखि ढेड सय जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका हेल्थ असिसटेण्ट एवं निमित्त प्रमुख तारादत्त बोहराले बताए। समायोजनमा सरुवा भएर गएपछि अहिले अस्पताल चिकित्सकविहीन बन्दा उपचार गर्न समस्या भइरहेको उनको भनाइ छ।

‘दैनिक रुपमा एक सयदेखि ढेड सय जनासम्म भाइरल ज्वरोका बिरामी आउँछन्। अस्पतालमा चिकित्सक नहुँदा निकै समस्या सिर्जना भइरहेको छ।’ उनले भने।

अस्पतालमा चिकित्सक नहुँदा यस क्षेत्रका बिरामी उपचारका लागि धनगढी, महेन्द्रनगर लगायत भारत जान बाध्य भएका छन्। भाइरल ज्वरोका बिरामीको चाप बढेको भएपनि जोगबुढा अस्पतालमा चिकित्सक नहुँदा अस्पतालका शैया खाली रहेका छन्।

समायोजन भएर सरुवा भएर चिकित्सकसहति अन्य स्वास्थ्यकर्मी भएको तर जोगवुढा अस्पतालमा कोही नआएकाले अहिले समस्या भइरहेको परशुराम नगरपालिकाका नगरप्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष भीमबहादुर साउँदले बताए। बारम्बार चिकित्सकको माग गरिएपनि अहिलेसम्म अस्पतालमा चिकित्सक तथा स्वस्थ्यकर्मी नआएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.