काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई)बाट ल्याइएको ३३ किलो सुनसहित तीन जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको प्रहरी टोलीले अवैध रुपमा ल्याइएको सुनसहित सुन लेराउने र सुन लिन आउने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले गोपालबहादुर शाही, मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्लेलाई पक्राउ गरी सुन बरामद गरेको हो। शाहीले ल्याएको सुन लिन थापा र काफ्ले विमानस्थल पुगेका थिए। शाहीले सुन थापा र काफ्लेलाई दिन लागेको बेला तीनै जनालाई पक्राउ गरिएको ब्युरोका निर्देशक डिआइजी नवराज सिलवालले जानकारी दिए।
‘एयर अरेवियाको जहाजबाट नेपाल आएका शाहीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँच पास गरेर बाहिर निस्कन लागेको बेला हामीले पक्राउ गरेका हौं’, डिआइजी सिलवालले भने ‘कारोबारी नै नभई भरिया हुनसक्छ, अनुसन्धान गरिरहेका छौं।’
लगेजभित्र प्लाष्टिकले र्याप गरेर दुई वटा लगेजमा सुन फेला परेको पनि उनले जानकारी दिए। लगेजबाट दुई सय ८२ वटा सुनका विस्कुट, औठी र सिक्रीहरु बरामद भएको थियो। युएइमा रहेका सुन पठाउने गिरोहले शाहीलाई प्रयोग गरी सुन पठाएको हुनसक्ने अनुमानका साथ अनुसन्धान गरिरहेको छ।
हुण्डी कारोबारमा संलग्न युएईमा रहेका नेपालीहरुले नेपालको विमानस्थलमा सेटिङ मिलाएर सुनको तस्करी गर्दै आउने गरेको पनि प्रहरीले जनाएको छ। कारोबारमा संलग्नहरुले नेपाल आउन लागेकाहरुलाई आर्थिक प्रलोभन दिई सुन पठाउने र सुन ल्याउने ब्यक्तिको फोटो खिचेर नेपालको एजेन्टलाई पठाउने र विमानस्थलको सुरक्षा जाँच पास भएपछि नेपालको एजेन्टले सुन लिएर जाने गरेको पाइएको पनि अनुसन्धानमा संलग्न प्रहरीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।