|

प्रशिक्षक जिनेदीन जिदानको प्रशिक्षणमा लगातार तीन पटक च्याम्पियन्स लिगमा उपाधि जितेर कीर्तिमान बनाएको रियल म्याड्रिड गत संस्करण अप्रत्यासित रूपमा प्रतियोगिताबाट बाहिरियो। गत संस्करण अन्तिम १६ मा आयाक्ससँग निराश भएको थियो।यद्यपि योपटक पुनः जिदानकै प्रशिक्षणमा रहेकाले पुरानो लय समाउने ध्याउनमा रहेको छ।

त्यसको सुरुवात रियलले बुधबार अर्को बलियो र महत्वकांक्षी टिमका रूपमा रहेको पिएजीविरुद्धको खेलबाट गर्दैछ। फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) पनि आफ्नो पहिलो खेलमा उत्कृष्ट छाप छोड्न चाहन्छ। चोटबाट मुक्त हुँदै गत साता मैदान फर्किएका हाजार्डले च्याम्पियन्स लिगको यही खेलमार्फत रियलको पहिलो रोजाइमा प्रतिष्पर्धा गर्दै छन्। रियलले ठूलो विश्वास गरेका हजार्डका लागि बुधबारको खेल निकै अर्थपूर्ण र महत्वपूर्णसमेत छ।

यसै सिजन १० करोड युरोमा चेल्सीबाट किनेका हाजार्डले प्रि-सिजनमा लागेको चोटका कारण गत साता लेभान्टेमाथि ३–२ को जित हासिल गरेको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर रियलका लागि डेब्यु गरे। करियरको सुरुआति समयमा लिलेबाट फ्रान्समा फुटबल खेलेका हाजार्ड बुधबार राति फ्रान्सेली राजधानी पेरिसमा प्रभावकारी साबित हुने जिदानले विश्‍वास लिएका छन्। खेलअघि जिदानले उनको प्रशंशा गर्दै भने ‘उनलाई आफू कहाँ छु भन्‍ने राम्ररी थाहा छ। हामी एउटा महत्वाकांक्षी क्लब हौँ। हरेक समय राम्रो खेल्नुपर्छ भन्‍ने हामीलाई थाहा छ र त्यसका लागि उनी उपयुक्त खेलाडी हुन्।’

रियाल आफ्नो पूर्ण शक्तिका साथ पेरिस भ्रमणमा निस्कँदा पिएसजीले भने युरोपेली क्लब फुटबलमा जारी सिजन सर्वाधिक चर्चामा रहेका सुपरस्टार नेयमारविना सुरु गर्दे छ। गत सिजनको अन्तिम खेलमा रेफ्रीलाई अपशब्द प्रयोग गरेका कारण नेयमार निलम्बनमा छन्। गत सिजन म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयमा असहमति जनाएका कारण उनलाई तीन खेलमा प्रतिबन्ध लगाइएको थियो। पछि क्लब र उनले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टसमा अपिल गरेपछि सिएएसले प्रतिबन्ध घटाएर दुई खेलमा झारेको छ।

नेयमारले जारी सिजन च्याम्पियन्स लिगका पहिलो दुई खेल गुमाउने छन्। उनले रियालविरुद्धको खेलसँगै अक्टोबर १ मा गालाटासरेविरुद्धको खेलका लागि हुने इस्तानबुल भ्रमण पनि गुमाउनेछन्। नेयमार अक्टोबर २२ मा क्लब ब्रुगेविरुद्ध हुने खेलदेखिमात्र फुकुवा हुनेछन्। इन्जुरी समयमा उनैले गरेको गोलमा टोलीले जित हासिल गरे पनि नेयमार समर्थकको मन जित्‍न भने सफल भएनन्। पूरा समय समर्थकले प्यारापिटबाट उनको विरोध गरिरहे। उनले गोल गर्दासमेत समर्थकले नेयमारलाई साथ दिएनन्।

च्याम्पियन्स लिगअन्तर्गत नै समूह ‘बी’मा इङ्ल्यान्डको टोटेनह्‍यामले ओलम्पियाकोसको भ्रमण गर्नेछ। जर्मन बुन्डेसलिगाको महारथी बायर्न म्युनिखले क्राभेना जिभेज्डालाई एलियान्ज एरिनामा निम्त्याउनेछ। त्यस्तै समूह ‘सी’मा डिनामो जागरेबले एट्लान्टालाई निम्त्याउँदा इङ्लिस च्याम्पियन म्यानचेस्टर सिटीले शाख्तर डोनेश्कको भ्रमण गर्नेछ। समूह ‘डी’ अन्तर्गतको खेलमा पोर्चुगली सुपरस्टार क्रिस्टियानो रोनाल्डोको युभेन्टसले एट्लेटिको मड्रिड विरुद्ध प्रतिष्पर्धा गर्दै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.