विज्ञ टोलीका लागि १२ लाख ५० हजार बजेट

|

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाका दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ। वडा नं ४ र वडा नं ७ मा कार्यालयमा तालाबन्दी बुधवार गरिएको हो। गाँउपालिका केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनेपर्ने भन्दै संघर्ष समितिले स्वास्थ्य संस्थाबाहेक वडा कार्यालय, विद्यालय, विभिन्न संघ संस्थालगायतका कार्यालयमा तालाबन्दी गरेको प्रहरीले जनाएको छ।

संघर्ष समितिले दुई दिनसम्म सम्पूर्ण कार्यालय बन्द रहने जनाएको छ। राज्य पनर्संरचना हुँदा गाउँपालिकाको केन्द्र साविकको डिलाशैनी गाविस तोकेको भए पनि गत भदौ २५ गतेको गाउँकार्यपालिकाको बैठकले केन्द्र छनोटको लागि विज्ञ टोली बोलाउने निर्णय गरेको थियो। उक्त बैठकले विज्ञ टोली बोलाउने निर्णय गरेको र उक्त टोलीको प्रतिवेदनका आधारमा केन्द्र छनोट गरिने गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिए। 

गाउँपालिकाको उक्त निर्णयको बिरोध गर्दै वडा नं ४ र वडा ७ का स्थानीय बासिन्दा आन्दोलित भएका हुन्। उनीहरूले संघर्ष समिति गठन गरी यसअघि गाउँपालिका कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइसकेका छन्। गाउँपालिका केन्द्र अन्यत्र सारिए जस्तोसुकै आन्दोलनमा जाने स्थानीय दीपक बहादुर धामीले बताए। गाउँकार्यपालिकाको पहिलो बैठकले साविकको डिलाशैनी गाविसभित्र उपयुक्त स्थान छनोट गर्ने भने पनि हाल आएर गाउँपालिका अन्यत्र सार्न चलखेल भएकोले आन्दोलित हुनुपरेको धामीको भनाइ छ। 

वडा कार्यालयलगायत अन्य कार्यालयमातालाबन्दी हुँदा सम्पूर्ण कामकाज ठप्प  भएका वडा नं ७ का वडा अध्यक्ष प्रेमसिंह धामीले बताए। सम्पूर्ण कामकाज ठप्प हुँदा सेवाग्राही समस्यामा परेका छन्। संघर्ष समितिले तालाबन्दी गरेपछि उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।

तालाबन्दीपश्चात सुरक्षाको लागि वडा कार्यालयमा पुगेको गोकुलेश्वर प्रहरी चौकीका हवल्दार नरेश सिंह कुँवरले बताए। साविकको डिलाशैनीमा गाउँपालिकाको केन्द्र तोकिएको भए पनि विभिन्न कारण देखाउँदै गएको १ वर्षदेखि वडा नं ३ पंसेरामा सम्पर्क कार्यालय स्थापना गरी कामकाज भइरहेका छन्। 

गाउँपालिका केन्द्र छनोट गर्न १२ लाख ५० हजार

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्रको उपयुक्त स्थान छनोट गर्न १२ लाख बढी बजेट छुट्याइएको छ। गाउँपालिका केन्द्रको लागि उपयुक्त स्थान छनोट गर्न विज्ञ टोली बोलाउन १२ लाख ५० हजार रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिए। सामाजिक अध्ययन र पूर्वाधारको अध्ययनको लागि विज्ञ टोली बोलाउने गाउँकार्यपालिकाको बैठकले गरेको हो। 'भविष्यसम्मको लागि उपयुक्त स्थानमा केन्द्र छनोट हुन्छ' उनले भने.

उक्त टोलीले गाउँपालिकाभरीको भूगोलको अध्ययन गर्नुका साथै विपद्को जोखिमका बारेमा पनि अध्ययन गर्ने गाउँपालिका अध्यक्ष बोहराको भनाइ छ। टोलीले गाउँपालिकाभित्र सामाजिक र पूर्वाधारको अध्ययन गरी टोलीले बुझाएको प्रतिवेदनका आधारमा गाउँसभाले केन्द्रका बारेमा निर्णय गर्ने जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.