|

जनकपुरधाम :  संविधान दिवस मनाउने निर्णयबाट प्रदेश २ सरकार पछि हटेको छ। सतारुढ समाजवादी पार्टीले संविधान दिवस न मनाउने, न विरोध गर्ने निर्णय गरेपछि प्रदेश सरकार पनि ब्याक भएको हो।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले संविधान दिवस ३ दिनसम्म भब्य रुपमा मनाउने सूचना नै जारी गरेको थियो। 

आज पहिलो दिन जनकपुरको जिरोमाइलदेखि बसपार्कसम्म सरसफाई तथा डेंगु नियन्त्रण सम्बन्धी जनचेतना मूलक कार्यक्रम गरिने मन्त्रालयको सूचनामा उल्लेख छ। तर यो कार्यक्रममा प्रदेशका मन्त्रीहरु सहभागी भएनन्।

कार्यक्रमको तालिका अनुसार आज जनकपुरको जिरोमाइलदेखि बसपार्कसम्म सरसफाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको अगुवाइमा गरिएको कार्यक्रममा नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी र सरकारी अधिकारीहरु भने सहभागी भएका छन्। संविधान दिवस तीन दिन दिनसम्म मनाउन तय भएको र सोही बमोजिम आज कार्यक्रम भएको प्रमुख जिल्ला अधिकारी कणेलले जानकारी दिए।

मन्त्रालयले भदौं २७ गते जारी गरेको सूचना अनुसार भोली संविधान दिवसको अवसरमा जानकी मन्दिरको प्रांगनबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी र त्यसको विहानपल्ट मधेस भवन परिसरमा सरसफाई तथा बृक्षारोपन र मधेस भवन परिसरबाटै जानकी मन्दिरसम्म लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतना मूलक र्याली निकालिनेछ। 

धनुषाका प्रमुख जिल्ला अधिकारी कणेलले प्रदेश सरकारकै अगुवाइमा संविधान दिवस मनाइरहेको बताए। उनले प्रदेशका मन्त्रीहरु सहभागी नभएको विषयमा केहि नबोल्ने बताए। उनले आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णहरी पुस्कर कर्ण र मुख्यमन्त्री कार्यालयको सचिवको समेत सहभागीता रहेको बताए। उनले भोली र पर्सी पनि प्रदेश सरकारकै अगुवाइमा कार्यक्रम हुने बताए।

यता, प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादबले संविधान संशोधन नभएसम्म दिवस नमनाउने प्रतिक्रिया दिए। उनले संविधानमा धेरै उपलब्धी पनि रहेकाले संविधान जलाउने काम पनि नगर्ने बताए। उनले यसअघि प्रदेश सरकार धुमधामसँग संविधान दिवस मनाउने निर्णय गरिएको बताएका थिए। तर अहिले त्यो निर्णयबाट ब्याक भएको विषयमा यादवले केहि बोल्न चाहेनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.