|

काठमाडौं : साविकको मेची अञ्चलका खेलाडी र खेलकर्मीलाई प्रोत्साह गर्ने उद्देश्यका साथ आयोजना गरिँदै आएको झापा स्र्पोटर्स अवार्ड-२०७५ को मनोनय सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्ञ (एनएसजेएफ) झापाको आयोजना हुँदै आएको अवार्डको तेश्रो संस्करणमा मनोनयमा इलामका पाँच र झापाका सातजना परेका छन्। मेचीका पाँचथर र ताप्लेजुङका खेलाडी र प्रशिक्षक भने मनोनयनमा परेनन्।

अर्वाडको चार विधामा तीन/तीन जनाको नाम शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरिएको हो। अवार्डको लागि वर्ष उत्कृष्ट खेलाडी (पुरुष) तर्फ उमेश राई (शारीरिक सुगठन), राम दाहाल (शारीरिक सुगठन) र नवयुग श्रेष्ठ (फुटबल) छन्। श्रेष्ठ गत संस्करणको पुरुष विधाका विजेतासमेत हुन्।

त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (महिला) मा एस्तर राई (कराते), अन्जिला तुम्बापो सुब्बा (फुटबल), बिनिता बुढाथोकी (भलिबल) छन्। वर्ष उत्कृष्ट खेलाडी (युवा) विधामा छिरिङ गुरुङ (फुटबल), अप्सरी बेगम (क्रिकेट), अमिता गिरी (ब्याडमिन्टन) मनोनयनमा परेका छन्।

त्यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षकमा हरि खड्का (फुटबल), डम्बर लिम्बू (बक्सिङ), योगश चम्लिङ (कराते) रहेको ‘झापा स्पोर्टस् अवार्ड २०७५’ तथा प्रतिभा छनोट समितिका संयोजक बुद्ध तामाङले जानकारी दिए। वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार र वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए।

अध्यक्ष खरेलका अनुसार पिपुल्स च्वाइज र लाइफ टाइम्स अचिभमेन्ट अवार्डका विजेता कार्यक्रम हुने दिन सिधै घोषणा गरिनेछ। उनीहरूले क्रमशः नगद २५ हजार र ३५ हजार रुपैयाँ पाउनेछन्।

‘झापा स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करण यही असोज १३ गते सोमबारका दिन बिर्तामोडको आदर्श ब्यांक्वेटमा हुनेछ। अवार्डलाई स्थापनाकालदेखि नै एन्फका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ पूर्वफुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा एक लाख रुपैयाँ प्रदान गर्दै आएका छन्। त्यस्तै, सहारा नेपाल साकोसले नगद दुई लाख रुपैयाँ प्रदान गर्छ भने अग्रज समाजसेवी तथा झापा ११ का अध्यक्ष जलकुमार गुरुङले दोस्रो स्पोर्टस् अवार्डमा आमा स्वर्गीय राजकुमारी गुरुङ, बुवा स्वर्गीय बलबहादुर गुरुङ र भाउजू स्वार्गीय तितामाया गुरुङको स्मृतिमा एक थान मोटरसाइकल र एक थान स्कुटर प्रदान गरेका थिए।

त्यस्तै, अन्य सामाजिक संघसस्था र व्यापारिक प्रतिष्ठानबाट समेत अमूल्य सहयोग भएको थियो। अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई सहभागी गराइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.