|

सप्तरी : जिल्लाको पूर्वी क्षेत्रमा पर्ने कंचनरुप नगरपालिका ३ बरमझिया निवासी सप्तरीका अग्रज पत्रकार हजारीप्रसाद सुमनको ७६ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ।

पछिल्लो केही वर्षदेखि मुटु रोगले थलिएका सुमनको बरमझियास्थित आफ्नै निवासमा निधन भएको हो। वि.सं. २०२९ सालमा राष्ट्रिय समाचार समितिको सप्तरी सम्वाददातको रूपमा तीन वर्षसम्म काम गरेका सुमनले पत्रकारिता र मानविकी विषयमा स्नातक गरेका थिए। जिल्लामै पत्रकारिताको जग बसाल्नेमध्ये रहेका सुमनको आइतबार दिउँसो गाउँ नजिकै पर्ने कोसी नदी किनारमा अन्तिम संस्कार गरिएको छ।

सुमनको पार्थिक शरीरमा नेपाली कांग्रेसका जिल्ला सभापति तथा पूर्वगृह राज्यमन्त्री रामकुमार चौधरी लगायतका नेताहरुले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए। तीन छोरा र दुई छोरी रहेका सुमनलाई जेठो छोरा चिरञ्जीवी प्रसाद साहले दागवती दिएका थिए।

वि.सं. १९९९ साल जेठ १५ गते जन्मिएका सुमन निरङ्कश पंचायती व्यवस्था विरुद्धको आन्दोलनमा पटकपटक जेल परेका थिए। बहुदलीय वयवस्थाको पुनःस्थापनापछि पहिलोस्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट तत्कालीन बरमझिया गाविसको अध्यक्षमा निर्वाचित सुमन २०५२/०५३ सालमा कांग्रेस महासमिति सदस्य तथा जिल्ला कार्य समिति सदस्य समेत रहेका थिए।

महासंघद्वारा दुःख व्यक्त

नेपाल पत्रकार महासंघ सप्तरी शाखाले सुमनको अिसामयिक निधनप्रति दुःख व्यक्त गर्दै मर्माहत भएको जनाएको छ। महासंघले आइतबार प्रेस विज्ञप्तिमार्फत् पत्रकारिताको माध्यमले निरंकशुत पञ्चायती व्यवस्थाको विरोध गर्दै मुलुकमा बहुदलीय व्यवस्थाका लागि अथक योगदान पुर्‍याएका योद्धाहरुमध्ये एक श्रद्धेय सुमन जिल्लाको पत्रकारिता जगतका इतिहास पुरुष रहेको जनाएको छ। 

पत्रकारिता जगतमा सुमनको योगदानको कदर स्वरुप महासंघको सप्तरी शाखाले २०६९ सालमा भारदहमा आयोजित साधारण सभामा सम्मान गरेको स्मरण गर्दै विज्ञप्तिमा दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जलि व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.