हेटौंडा : मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा रहेको क्षेत्रीय कारागारका कैदी व्यस्त छन्। क्षेत्रीय कारागार भीमफेदी दशैँ रौनकले छोपिएको छ।
कारागारभित्र रहेका कैदीहरू दशैंको स्वागत गेट निर्माण, ध्वजा पतकाले सजाउनेदेखि सरसफाइमा कैदीबन्दीहरू ब्यस्त छन्। कोही भोजको लागि खानेकुरा तयार पार्दै छन्। दुई वटा ब्लकमा छुट्याएको कारागारको ब्लकै पिच्छे छुट्टा-छुट्टै स्वागतद्बार र ब्यानर राखेका छन् भने मुल गेटको अगाडि ठूलो ब्यानर र स्वागतद्बार राखेका छन्।
९९४ जना पुरुष कैदीबन्दी रहेको क्षेत्रीय कारागारमा झट्ट कोही पुग्दा मकवानपुरको कुनै गाउँ झल्को दिने गर्छ। कारागारका अधिकांश कैदी मकवानपुर जिल्लाकै भएकोले सबै मिलेर दशैं मनाउने तयारी गरेको मनहरीका रामप्रसाद कालाखेती बताउँछन्।
भीमफेदी कागारारमा हाल आफन्तले ल्याइदिएको दशैँ भागले कारागारमा खानेकुराको पनि कमि छैन। कसैको आफन्तले कुखुरा, कुनै संस्थाले खसी, कसैले राँगा ल्याईदिने भएकोले पनि खानेकुराको समस्या नभएको क्षेत्रीय कारागार भीमफेदीका निमित्त प्रमुख केदारप्रसाद सापकोटा बताउँछन्। सापकोटाका अनुसार कारागारमा दशैं मनाउने तयारी गरिरहेका कैदी बन्दीमध्ये ६० करिब प्रतिशत मकवानपुरको मात्र रहेको कारागार कार्यालयको तथ्यांक छ। तीमध्ये पनि सबैभन्दा बढी लागुऔषध मुद्दाका ३७९ जना रहेको छन्।
बाहिर जे जे अपराध गरेर आएको भएता पनि भित्र सौहार्द्रपूर्ण रुपमा बसेकोले दशैं पर्व पनि आफूहरूले भव्यताको साथ मनाउने कारागारका नाइके ड्यानियल लामा बताउँछन्। कारागारभित्र पनि पाका उमेरकालाई सम्मान गर्दै युवाले दाउरा चिर्ने, सफा गर्ने काममा आफ्नै नेतृत्वमा नै काम भइरहेको उनले बताए।
गाँजा प्रभावित गाउँ सुनसान
मकवानपुर जिल्ला लागुऔषध गाँजा उत्पादनको हबको रुपमा परिचित हुँदै आएको छ। मकवानपुरका लागुऔषध प्रभावित केहि गाउँहरू भने यो दशैंमा सुनसान बनेको छ। पश्चमी मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित धिराङ गाउँ सुनसान जस्तै छ। शहरदेखि गाउँघरसम्म दशैँले धपक्कै छोपे पनि यो गाउँमा दशैंको रौनक छैन।
धिराङ जस्तै राक्सिराङ र कैलाश गाउँपालिकाका बिभिन्न गाउँहरू केही वर्षयता दशैंमा हाँस्न सकेको छैनन्। यस क्षेत्रका अधिकांश युवा वैदेशिक रोजगारीमा गएका छन्। बाँकी गाउँमा भएका युवा पनि लागुऔषधलगायत अन्य मुद्दामा कारागार पुगेपछि गाउँघर सुनसान जस्तै बनेको हो। कारागारमा कैदीबन्दीमध्ये सबैभन्दा बढी लागुऔषध मुद्दाका ३ सय ७९ जना रहेका छन् जसमा पश्चिमी मकवानपुरको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाका कैदीबन्दी धेरै रहेका छन्। तीमध्ये अधिकांश लागुऔषध गाँजा ओसार पसारमा पक्राउ परेका हुन्।
गाउँपालिकाको सहयोग
गाउँघरका प्रायः युवा कारागारमै भएपछि मकवानपुरको राक्सिराङ गाउँपालिकाले कारागारमै पुगेर कैदीबन्दीलाई दशैँको लागि खसी,चिउरा,तेल लगायत खाद्यान्न सहयोग गरेको छ।
कारागारबाट कैद भुक्तान गरेर फर्किएपछि गाउँपालिकाभित्रका युवालाई गाउँपालिकाले अन्य स्वरोजगारको काम गर्न अनुदान समेत दिने नीति लिएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन्। कारागारमै दशैंको माहौल भएपनि कैदीबन्दीको मन गाउँघर र आफन्तमै अड्किएको छ भने घरपरिवारको मन भने सँगै बसेर आफ्नो मान्छेसँग दशैं मनाउन नपाउँदा खिन्न भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।