|

काठमाडौं : सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगमा नियुक्तिको टुंगो लगाउने तथा यीसँग सम्बन्धित कानुन निर्माणबारे नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल हुने भएको छ।

बिहीबार ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा र कांग्रेसका शीर्ष तहका नेताहरूको सहभागिता हुने बताइएको छ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारीमा नियुक्तिको विषयमा दलहरूबीच विवाद रहँदै आएको छ। कसलाई यी आयोगको पदाधिकारी नियुक्त गर्ने भनेर पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरिएको थियो। उक्त समितिको बैठक पनि पछिल्लो समय बाक्लो गरी बसिरहेको छ।

नेकपाका अध्यक्ष प्रचण्डले पनि आज बैठक बस्ने कुरा बताएका छन्। चितवनमा दशैं, तिहार, छठको अवसरमा चितवनमा आयोजित कार्यक्रममा उनले आजै ४ बजे प्रधानमन्त्री, आफू र प्रतिपक्षी दलका नेता देउवाबीच विशेष बैठक बस्न लागेको बताए।

यता कानुन निर्माणको तहमा पनि काम भइरहेको नेकपाका नेताले बताएका छन्। संसदको नयाँ अधिवेशनको सुरुमा नै यी आयोगसँग सम्बन्धित विधेयक पास गर्नेगरी तयारी भइरहेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए। त्यसका लागि प्रतिपक्षी दलका नेताहरूसँग पनि छलफल भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.