पार्टीलाई आफ्नैबाट खतरा रहेको जिकिर

|
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई बाह‍्‍य तत्त्वबाट खतरा नभएको बताएका छन्। उनले परिवर्तनका लागि लडेका राजनीतिक दलहरूबाटै यस्तो खतरा रहेको उनले बताएका छन्।

चितवनमा बिहीबार दशैं, तिहार, छठ लगायतका पर्वहरूको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले पार्टीभित्रका स्वार्थी तत्त्व र गुटका कारण नेताहरूले जनताबाट आफूलाई टाढा लैजानाले परिवर्तन खतरामा रहेको बताएका हुन्। उनले कम्युनिस्ट पार्टी सत्तामा पुगेपछि आदर्श र जनताबाट अलग्गिने विश्वव्यापी रोगले नेपालमा पनि खतरा रहेको बताएका हुन्।

प्रचण्डले कम्युनिस्ट पार्टीका नेताहरू सत्तामा नपुग्दासम्म जस्तोसुकै त्याग, बलिदान गर्न तयार हुने तर सत्तामा गएपछि ती कुरा बिर्सँदै जाने भएकाले समस्या भएको बताए।

उनले पार्टी सत्तामा पुगेपछि व्यक्ति र पार्टीभित्र अराजकता र गुटले गर्दा समस्या पैदा हुने बताए। दुईतिहाइ जनमत पार्टीभित्रको एकता प्रदर्शन गरेर नै प्राप्त भएको भन्दै प्रचण्डले अराजकता र अस्तव्यवस्तता कायम रहेमा परिवर्तन उल्टिने डर पैदा भएको बताए।

चितवनमा नै एक नेताले अर्को नेतालाई तेजोवध गर्ने प्रवृत्ति नेकपाभित्र मौलाएको प्रचण्डको भनाइ थियो। उनले नेकपाका नेताहरू नै चितवनमा भिडेपछि बाह्य तत्त्व पनि खेल्नका लागि चितवन आएको बताए।

केही पहिले भएको उद्योग वाणिज्य संघको निर्वाचनमा चितवनमा नेकपाका उम्मेदवार हारेको प्रति प्रचण्डको असन्तुष्टिको संकेत थियो। प्रचण्डले भने, 'चितवन देशभरीका अराजकतावादी खेल्ने ठाउँ त बन्ने होइन भन्‍ने चिन्ता लागेको छ। चुनाव भयो भने कम्युनिस्ट पार्टीका नेताहरू नै मिलेको देखेको छैन। कसरी एकले अर्कोलाई तेजोबध गर्ने भन्‍ने देखिएको छ।'

अराजकता फैलाउनेलाई चितवन नेकपाका नेताहरू नै ताली बजाएर हिँड्ने गरेको आफूले सुनेको प्रचण्डले भने। उनले चितवन जिल्लालाई अराजक बनाउन सकियो भने त देशभरीमा अराजकता फैलाउन सकिएला भन्नेहरूलाई त्यस्ता क्रियाकलापले बल पुगेको बताए।

रुस र युरोपको उदाहरण दिँदै प्रचण्डले नेकपालाई बाह्य शक्तिले नभइ आन्तरिक कलहले सक्ने हो कि भन्ने आफूलाई डर लागेको धारणा राखेका थिए।

उनले भने, 'रुसमा प्रतिक्रियावादीले लडेर पुँजीवाद आएको होइन। सोभियत संघको पतन अमेरिकाका पुँजीपति आएर, लडेर कम्युनिस्टलाई हराएर उल्टिएको होइन। त्यो कम्युनिस्ट पार्टीभित्रै विकसित भएको अराजकतावादी सोच र चिन्तन फैलिँदै र मौलाउँदै जाँदा आफ्नो पार्टी आफैले विघटन गरेर सिद्धिएको हो। पूर्वी युरोपका समाजवादी देशहरू पनि त्यसरी नै सिद्धिएका हुन्। कम्युनिस्टहरूलाई अरूले हराउन सक्दैनन्।'

प्रचण्डले पार्टी कामै नलाग्ने गरी बिग्रिएको निष्कर्ष आफ्नो नभएको तर अलिअलि बिग्रिन लागेको भने समीक्षाबाट निस्किएको बताए। उनले भने, 'हामीमा अलिअलि धुलोमैलो लागेको मात्रै हो क्यान्सर नै भएको छैन। उपचारै नहुनेगरी क्यान्सर भएको भन्‍न खोजेको होइन। ग्यास्ट्रिक अलिअलि अल्सरसम्म भएको होला। यसको उपचार छ। राम्रोसँग नुहाईधुवाइ गर्‍यो वा उपचार गर्‍यो भने सम्भव छ।'

उनले पार्टीको केन्द्रीय तहमा पार्टीलाई नयाँ ऊर्जा र गतिमा अगाडि लैजानेबारे छलफल चलिरहेको बताए। प्रचण्डले पार्टीभित्र एकता भएको अवस्थामा जनताले मन पराउने र कसैले पनि पराजित गर्न नसक्ने भन्दै नेता र कार्यकर्तालाई एकताबद्ध भएर अगाडि बढ्न निर्देशन दिएका थिए।

भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.