क्रेटिनाइन र प्रोटिन अत्यधिक देखियो

|

काठमडौं : स्वास्थ्यमा अचानक समस्या देखिएपछि धापासीस्थित ग्राण्डी अस्पतालमा स्वास्थ्य परिक्षणका लागि गएका  प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार भइरहेको छ । उनलाई आज अबेर वा भोली मात्र डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा गडबडी भएपछि बिहान साढे १० को समयमा ग्राण्डीमा पुर्याइएका प्रधानमन्त्री ओलीको त्यहाँस्थित आईसीयूको बेड नम्बर १४१६ मा राखेर उपचार थालिएको हो। स्रोतका अनुसार मिर्गौलामा समस्या देखिएपछि प्रम ओलीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ । 

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री मिर्गौलाको नियमित चेकजाँचका लागि ग्राण्डी गएको बताए पनि केही दिनदेखिको व्यस्तताले उनी अस्वस्थ थिए। मिर्गौलाका बिरामी प्रधानमन्त्री ओलीलाई ज्वरो आउने र टाउको दुख्ने  समस्या देखिएपछि बुधबार बिहान सरकारी निवास बालुवाटारबाट चेकजाँचका लागि ग्रान्डी लगिएको थियो।

समस्या के हो ? 

ग्राण्डी अस्पताल स्रोतका अनुसार बुधबार दिनभर गरिएको चेकजाँचका क्रममा प्रधानमन्त्रीको रगतमा क्रेटिनाइन र प्रोटिन अत्यधिक बढेको पाइएको छ।

यी दुई तत्व ओलीको रगतमा अत्यधिक देखिएपछि चिकित्सकहरुले मिर्गौलाले काम गर्न छाडेको ठहरसहित डायलासिस प्रक्रियामा जाने या नजानेबारे परामर्श तीव्र बनाएका छन्। 

त्यसैगरी स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्रीको छातीमा पनि संक्रमणमा देखिएको छ। जसले गर्दा प्रधामन्त्रीले स्वासप्रश्वास प्रक्रियामा अफ्ठेरो महसुस गरेका थिए। स्रोतका अनुसार मिर्गौला र फोक्सोसहितको परीक्षण भइरहेको छ। चिकित्सकहरूले प्रमको छातीमा पनि संक्रमण देखिएकाले नियमित निगरानीमा राखेर उपचार गर्नुपर्ने ठहर गरेका थिए।

‘आज दिनभरी प्रधानमन्त्रीको मिर्गौलासहित शरीरको समस्याको परीक्षण भएको छ। रगतमा क्रेटिनाइन र प्रोटिन अत्याधिक देखिएकाले मिर्गौलाले काम गर्न छाडेको संकेत दिएको छ’, स्रोतले भन्यो, ‘अन्य रिपोर्टहरु आइनसकेकाले प्रधानमन्त्रीको स्वास्थ्यबारे परामर्श भइरहेको छ। उपचार जारी रहेकाले भोलि मात्रै डिस्चार्ज गर्ने आईसीयूमै राखेर थप उपचार जाी राख्ने कुराको निधो हुनेछ।’

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ तथा प्रत्यारोपण विशेषज्ञ चिकित्सक डा पुकारचन्द्र श्रेष्ठकाअनुसार शरीरमा रगतमा क्रेटिनाइन र प्रोटिन  बढ्नु  मिर्गौलाले काम गर्न छोड्दै गएको संकेत पनि हुनसक्छ । 

स्वस्थ्य मानिसमा पनि रगतमा प्रोटिन र क्रेटिनाइन बढ्नु मिर्गौलामा समस्या आउने संकेत हो।  मानिसको शरीरमा रहेको रगतमा ०.७ देखि १.४ सम्म रहेको क्रेटिनाइन सामान्य मानिन्छ। तर २.२ भन्दामाथि प्रोटिन र क्रेटिनाइन पुगे मिर्गौलामा समस्या छ भनेर बुझ्नुपर्ने श्रेष्ठ बताउँछन्। 

प्रत्यारोपण गरेका व्यक्तिको रगतमा क्रेटिनाइन र प्रोटिन बढ्दै गयो भने प्रत्यारोपण गरेको मिर्गौलामा असर भएको बुझिने चिकित्सकहरु बताउँछन्। प्राय प्रत्यारोपण गरेका व्यक्तिमा प्रत्यारोपणको ५ वर्षपछि यस्ता समस्या आउँछन्। जसलाई नियमित परीक्षण खानपान र व्यायामका माध्यमबाट सहज पार्ने गरिन्छ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले ग्रान्डीस्थित आईसियूको बेड नम्बर १४१६ मा बिहान सवा ११ बजे भर्ना प्रधानमन्त्रीको उपचार भइरहेको जानकारी दिइन्। प्रधानमन्त्रीको स्वास्थ्योपचारको नेतृत्व निजी चिकित्सक डा. सिंह शाह आफैँले गरिरहेकी छन्। 

अवस्था सामान्य 

यसैबीच ग्राण्डी अस्पतालका तर्फबाट डा. दिव्या सिंह शाह र मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ एक प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन्। 

उनीहरुले प्रधानमन्त्रीको उपचार जारी रहेकाले आजै राति या भोलिसम्ममा डिस्चार्ज गरिने जानकारी दिएका छन्। प्रेस नोटमा स्वास्थ्य परीक्षण जारी रहेको बताइए पनि त्यसको विस्तृत विवरण र मिर्गौलाको अवस्थाबारे केही पनि खु्लाइएको छैन। 

सिंगापुरबाट फर्केर पनि नियमित उपचार

१२ वर्षअघि मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि नियमित उपचाररत छन्। गम्भीर स्वास्थ्य समस्या देखिँदा सिंगापुर र अन्य देशमा जाने गरेका ओलीको नेपालमा पनि उपचार जारी छ। 

यसअघि सिङ्गापुरको नेशनल युनिभर्सिटी अस्पतालमा प्लाज्माफेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरेर प्रम ओली गत भदौ २० भदौ  फर्किएका थिए।

ओलीले सिंगापुरबाट फर्किएपछि त्रिवि शिक्षण अस्पतालमा दुई पटक स्वास्थ्य परीक्षण गराएका थिए। यसबीचमा छाउनीस्थित सैनिक अस्पतालमा उनको मिर्गौलाको बायोस्पी पनि गरिएको थियो। 

मुटुकोसमेत नियमित चेकजाँचमा रहेका ओली पछिल्लो पटक आज अस्वस्थ भएपछि उपचारको लागि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेका हुन्। यसअघि पनि ओली स्वास्थ्य परीक्षणका लागि दुई पटक ग्राण्डी गइसकेका थिए। तर प्रधानमन्त्रीको सचिवालयले यो कुरा बाहिर ल्याएको थिएन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.