श्रीलंकाले क्रिकेट म्याच फिक्सिङलाई अपराधका रूपमा सजाय गर्ने कानुन ल्याएको छ।
श्रीलंकाको संसदले खेलसँग सम्बन्धित अपराध रोकथाम विधेयक पारित गरेको छ। अब श्रीलंकामा म्याच फिक्सिङलाई अपराधका रूपमा लिइने छ। म्याच फिक्सिङ र भ्रष्टाचारसँग जोडिएको यो कानुन हरेक खेलमा लागु हुनेछ।
यो कानुनअनुसार म्याच फिक्सिङ गरेमा १० वर्षसम्म कैद हुन सक्नेछ। त्यससँगै जरिवाना पनि तिर्नुपर्नेछ।
केही पहिले मात्रै आइसिसीले श्रीलंकमा म्याच फिक्सिङको छानबिन गरेको थियो। जसको आधारमा यो विधेयक ल्याएर पारित गरिएको हो।
उक्त विधेयक खेलमन्त्री हरिन फर्नान्डोले संसदमा पेश गरेका थिए भने पूर्वकप्तान अर्जुन राणातुंगाले संसदमा समर्थन गरेका थिए। राणातुंगा सरकारमा मन्त्री पनि छन्।
यो विधेयकअनुसार फिक्सिङमा संलग्न हुने व्यक्तिलाई कारबाही गरिनेछ। त्यस्तो कार्यमा सहयोग गर्नेलाई पनि कारबाही गरिने भएको छ।
खेलका अफिसियल र पिच क्युरेटरलाई पनि कारबाहीको भागिदार बनाइने भएको छ। क्युरेटरले म्याच फिक्सिङमा सहभागीले भनेझैँ पिच तयार गरेको पाइएमा उसलाई पनि जेल सजाय हुनेछ।
उक्त कानुनअनुसार म्याच फिक्सिङ भइरहेको भन्ने थाहा पाउने व्यक्तिले सम्बन्धित निकायलाई नभनेको खण्डमा सजायको भागीदार बन्नुपर्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।