|

जनकपुरधाम : प्रदेश २ सरकारको महत्वाकांक्षी योजना बेटी पढाउ, बेटी बचाउ अभियानमा अमेरिकी सरकारले सहयोग गर्ने भएको छ। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले जनकपुर आएर उक्त अभियानमा सहयोग गर्ने इच्छा व्यक्त गरेका हुन्।

राजदूत बेरीले बेटी पढाउ, बेटी बचाउ कार्यक्रमको प्रभाव विषयमा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न पक्षसँग छलफलसमेत गरे। अभियानअन्तर्गत साइकल पाएकी छात्रा, छोरी बीमा गराउन आएकी महिला र मुख्यमन्त्रीका मुख्यसचिवसँग उनले छुट्टाछुट्टै छलफल गरे। छलफलपछि राजदूत बेरीले अभियान प्रभावकारी भएको प्रतिक्रिया दिए।

अभियानकी संयोजक प्रिंयका यादवले सबै पक्षसँग छलफलपश्चात बेरीले सहयोग गर्ने प्रतिवद्धता जनाएको बताइन्। उनले भनिन्, ‘राजदूत बेरीले सहयोग के र कति गर्ने विषयमा अहिले केही बोल्नु भएन। तर, सहयोग गर्छु भन्नुभएको छ।’  'बेरीले अभियानका टोलीसँग छलफलपछि सहयोगका लाग सकारात्मक देख्नुभयो' उनले थपिन्।

बेरी राजनीतिक सल्लाहकारसहितका टोलीसँग विगत तीन दिनदेखि जनकपुरमा छन्। मुख्यमन्त्री कार्यालयबाट तथ्यांक लिएर उनको टोलीले बेटी पढाउ, बेटी बचाउ अभियानअन्तर्गत साइकल वितरण गरिएको विद्यालयमा समेत पुगेर अवलोकन गरेका थिए।

प्रदेश सरकारद्वारा संचालित मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानअन्तर्गत प्रदेश २ का १४ हजार छात्रालाई साइकल वितरण गरिएको छ। यस आर्थिक वर्षमा समेत साइकल वितरणलाई निरन्तरता दिएको छ। यस्तै सय सामुदायिक विद्यालयमा छात्रा शौचालय निर्माणसमेत गरेको छ। साथै छोरी बीमा कार्यक्रमसमेत संचालनमा छ। हालसम्म करिब ५ हजार छोरीको बीमा गरिएको छ।

बेरीले छोरी बीमा कार्यक्रममा समेत आर्थिक सहयोगको इच्छा जाहेर गरेका छन्। उनले पहिलो चरणमा बेटी पढाउ, बेटी बचाउ अभियानका लागि ३० हजार साइकल र छोरी बीमाका लागि समेत केही आर्थिक सहयोग गर्ने मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ। अभियानलाई प्रभावकारी बनाउन जनचेतनामूलक कार्यक्रमका लागि समेत अ‍मेरिकी सरकारले सहयोग गर्ने बताइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.