|

काठमाडौं : सत्ता साझेदार दल समाजवादी पार्टीले सरकार तत्काल नछाड्ने भएको छ। काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले सरकार छाड्न दबाब दिए पनि बैठकमा उक्त प्रस्ताव नै पेश भएन। 

समाजवादीले सत्ताबाट बाहिरिने न नबाहिरिने भन्ने निर्णय सत्ता नेतृत्व गरिरहेको  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हातमा नै छाडेको छ। नेकपाले संविधान संशोधन प्रस्तावबारे आधिकारिक धारणा प्रस्तुत गरेपछि मात्रै सरकारबारे निर्णय लिने समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बताए।

अध्यक्ष भट्टराईले भने, ‘नेकपासँगको लिखित सहमतिअनुसार संविधान संशोधन प्रस्ताव पेस हुने वा नहुने अवस्थाको निर्क्योल गरेर सरकारबारे निर्णय लिइने छ।’

लिखित सहमति अनुसार नेकपाले संविधान संशोधन बारे कुनै चासो नदेखाएको भन्दै सरकारबाट बाहिरिनुपर्ने केही केन्द्रीय सदस्यहरुले दवाव दिएका थिए। 

साझा सम्बोधन ‘जय मातृभूमि’

दुई दिनसम्म चलेको समाजवादीको बैठकले सीमा विवादबारे कुनै निर्णय गरेन। भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण भएको भन्दै राजनीतिक वहस भैरहेको अवस्थामा समाजवादी पार्टीले साझा सम्बोधनका रूपमा ‘जय मातृभूमि’को सम्बोधन मात्र पारित गरेको छ।

केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले बैठकको अन्तिममा पहिचानजनित सम्बोधनसँगै साझा सम्बोधनका रूपमा जय मातृभूमि सम्बोधन प्रस्ताव गरेका थिए।

बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष यादवले भने, ‘जय मधेस, जय लिम्बुवान, जय किरात, जय ताम्सालिङलगायत १०ं१ प्रदेशको पहिचानजनित सम्बोधनसँगै राष्ट्र पनि प्रमुख हो। त्यसैले जय मातृभूमि सम्बोधन जोडेर लैजानुपर्छ।’

संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले समाजवादी पार्टी मधेस आन्दोलनकै जगबाट उठेको पार्टी भएको बताए। भट्टराईले भने, ‘आजको समाजवादी पार्टी हिजोको मधेस आन्दोलनको जगबाट निर्माण भएको हो। यसमा कसैले द्विविधा राख्नु हुँदैन।’

माओवादी विद्रोह, मधेस, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, खस आन्दोलनलगायत आन्दोलनहरुको उपलब्धिका रूपमा प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै समुन्नत संघीय समाजवादको कार्यभार पूरा गर्ने दिशामा अघि बढ्न भट्टराईले बैठकबाट आह्वान गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.