पाँचथर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट नेतृत्वको सरकार असफल भइसकेको बताए।
कम्युनिस्ट पार्टीको सरकार गठनपछि जनतालाई सुशासनसँगै न्याय दिन नसकेको, पक्षपातपूर्ण शासन गरेको, स्वदेशी लगानीकर्ता, दाता र सहयोगीहरू भाग्न थाल्दा समृद्धिका बाटाहरू रोकिन थालेको बताए।
पाँचथरको फिदिम नगरपालिका १ मा अध्यक्ष पदका कांग्रेस उम्मेदवार सुवराज थापाको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले अब यस्तो अवस्थाबाट देशलाई मुक्त गर्न ठाउँ ठाउँमा हुने उपनिर्वाचनमा कम्युनिस्ट उम्मेदवारलाई हराउन आवश्यक रहेको जिकिर गरे। कांग्रेसको सपना निमुखालाई न्याय र विपन्नलाई आय भन्ने रहेको बताए।
‘नेपाली कांग्रेसको सपना भनेको के हो भन्दाखेरीमा निमुखालाई न्याय दिलाउने र विपन्न जनतालाई आय दिलाउने’ उनले थपे,‘ यहाँको सामाजिक स्थितिलाई माथि उठाउने र धुले सडक कालोपत्रे बनाउने र यो ठाउँमा खानेपानीदेखि विद्युतको समस्यादेखि लिएर सबै समस्याको निराकरण गर्दै जनतालाई सुखमय जीवन दिलाउने योजना कांग्रेस उम्मेदवार थापाको छ। दत्तचित्त भएर नखाई नसुती घरघरमा गई मत मागी जिताउन आग्रह गर्दछु।’
नेता पौडेलले वडाध्यक्ष पदका कांग्रेस उम्मेदवार थापाको साथमा सिंगो पार्टी रहेको बताए। कांग्रेस उम्मेदवारले विकास गर्छ भन्ने कुरा जनतालाई विश्वास दिलाउन पनि जिल्लास्थित पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।
‘कम्युनिस्ट सरकारले जुन किसिमको देशभरि महँगी, बेरोगारी, भ्रष्टाचार र करको बोझ जनतालाई बोकाएका छन्’ उनले भने, ‘थापा जीलाई महँगी, भ्रष्टाचार र बेरोजगारीबाट मुक्ति पाउन र वडालाई समृद्धिको बाटोमा लैजान जिताउनुपर्छ।’
करिब चार मिनेट मन्तव्य राखेका जनताले कुशासन र भ्रष्टाचारको शासन नचाहने बताए। यससँगै फिदिम १ का दिवंगत अध्यक्ष हर्कप्रसाद मोक्तान तामाङको सम्झना गर्दै समवेदना व्यक्त गरे। तर उनले दुई पटकसम्म पनि दिवंगत अध्यक्ष तामाङको शुद्धसँगले नाम उच्चारण गर्न नसकेपछि मञ्चमा आसिन जिल्लास्थित
कांग्रेस नेताहरूले तीन पटकसम्म हर्कप्रसाद मोक्तान भनेर सुनाएका थिए। कतिपय कार्यकर्ताहरू हाँसेका पनि थिए। चुनावी सभालाई कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले फेरि पनि नेपाली कांग्रेस पराजित हुनु पर्यो भने नेकपा नेतृत्वको सरकारले गरेको कुकृत्यलाई अनुमोदन गरेको ठहरिने बताए।
चुनावी सभालाई पार्टीका जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, सचिव रुपनारायण जबेगू र उम्मेदवार थापाले सम्बोधन गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।