|

काठमाडौं :  यो जाडो मौसम हो, जसले गर्दा हाम्रो स्वास्थ्यमा विभिन्न खालका शारीरिक समस्याहरू देखिने गर्छन्। अझ चिसो मौसममा सबैभन्दा धेरै चिसोले बालबालिकाहरूलाई सताउने गर्छ।

यो समयमा बालबालिकाहरूमा नाक बन्द हुने, श्वास फेर्न गाह्रो हुने, घाँटीमा समस्या हुने, कोल्ड डायरिया हुने तथा निमोनिया जस्ता समस्या देखिने गर्छ। यसले गर्दा धेरै बालबालिकाहरूको चिसोकै कारण मृत्युसमेत हुने गर्छ। त्यसैले चिसो मौसममा बालबालिकाको धेरै ख्याल गर्नुपर्ने हुन्छ।

सुन्तला खुवाउनुहोस्

बच्चाको उमेर एक वर्षभन्दा धेरै छ भने उनीहरूलाई गर्मी हुने फलफूल, जुस तथा सागसब्जीहरू मिलाएर खुवाउनु राम्रो हुन्छ। जाडो मौसममा फलफूलले चिसो हुन्छ भन्ने भ्रम मात्र हो।

तर, चिसो समयमा भने फलफूललाई तातो पानीले धोएर वा तातो पानीमा डुबाएर खुवाउन सकिन्छ, जसले उनीहरूलाई चिसोबाट बचाउन सहयोग गर्छ। अझ यो मौसममा बालबालिकाको लागि सुन्तला खुवाउनु उत्तम हुन्छ। जसले बालबालिकालाई चिसोबाट बचाउनुका साथै विभिन्न खालका भिटामिनहरु उपलब्ध गराइ रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।

धेरै कपडा नलगाइदिनु

धेरै अभिभावकहरूले आफ्ना बालबालिकालाई चिसोबाट बच्न भन्दै धेरै कपडा लगाइदिने गरेको पाइन्छ। तर, धेरै कपडा लगाइँदा बालबालिकालाई न्यानो हैन झन् चिसो हुने गर्छ।

चिसो मौसममा बालबालिकालाई धेरै कपडा लगाउने र न्यानोका लागि भन्दै धेरै ओडाउने हुँदा पनि बालबालिका निसासिने सम्भावना हुन्छ भने धेरै कपडा लगाइदिँदा पसिना आउने र सोही पसिना शरीरमा भिजेर बालबालिकालाई चिसो हुने र निमोनिया हुने सम्भावना हुन्छ। जसले गर्दा सकेसम्म धेरै कपडा नलगाउने, राति बालबालिकाले पिसाब गरे/नगरेको, ओड्नेले ढाके/नढाकेको पटकपटक हेर्दै गर्नुपर्छ।

राति सुत्ने समयमा तातो दूध खुवाउने हो भने रातभरको चिसोबाट बालबालिकालाई जोगाउन सकिन्छ। राति सुत्दा ओडाएको कपडा बालबालिकाले फाल्ने हुँदा मोजा, पन्जा, टोपी, थर्मकोट लगाएर सुताउँदा राम्रो हुन्छ। बालबालिकालाई घाँटीमा डोरी बाँध्ने टोपी लगाएर सुताउँदा श्वासप्रश्वासमा गाह्रो हुने हुँदा यस्तो टोपी नलाउँदा नै राम्रो हुन्छ।

बिहानको घाम तपाउनुहोस्

चिसो मौसममा बालबालिकाहरूलाई बिहानको घाममा हरेक दिन एक दुई घन्टा राख्ने गर्नुपर्छ, जसले गर्दा बालबालिका चिसोबाट बच्नुका साथै भिटामिन डीको समेत आपूर्ति हुन्छ। धेरैले चिसोबाट बच्न घरमा हिटर बाल्ने र बालबालिकालाई पनि हिटर तपाउने गरिन्छ तर बालबालिकालाई हिटरबाट टाढै राख्नुपर्छ।

हिटरबाट निस्कने कार्बनडाइअक्साइड जस्ता ग्यासहरूले बालबालिकाको स्वास्थ्यमा असर पुर्‍याइरहेको हुन्छ। जाडोमा बालबालिकालाई सकेसम्म नुहाइदिनुहुँदैन। नुहाउनैपर्ने अवस्था आएमा नुहाउनुभन्दा अगाडि तेलले शरीरमा मालिस गरेर नुहाइदिनुपर्छ।

चिसो मौसममा समय समयमा मिलाएर बालबालिकालाई स्टिम बाथ दिनु राम्रो हुन्छ। चिसो मौसममा बच्चालाई सुताउँदा अनुहार कहिल्यै छोपिदिनुहुँदैन, जसले गर्दा उनीहरूलाई श्वास फेर्नसमेत गाह्रो हुन्छ। चिसो मौसममा सकेसम्म बालबालिकालाई डाइपर लगाइदिनु राम्रो हुँदैन। धेरै समयसम्म डाइपर लगाइदिँदा उनीहरूलाई चिसो हुने गर्छ।

 बाल नर्सिङ सुरक्षा सुवेदीसंँग गरिएको कुराकानिमा आधारित

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.