|

विराटनगर : सडक अतिक्रमण गरेर बनाएको संरचना भत्काउँदा आफ्ना नम्बरी घर जग्गा गुमेको भन्दै मोरङ रंगेली नगरपालिकास्थित रंगेली बजारका पाँच दर्जन बढी सर्वसाधरणले मुआब्जाको माग गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत एक ज्ञापनपत्र बुझाउँदै उनीहरूले संविधान र कानूनले निर्धारण गरेको मुआब्जा र क्षतिपूर्ति पाउनु पर्नेमा जोड दिएका हुन्।

रंगेली नगरपालिकाको बीच भागबाट पूर्व-पश्चिम विराटनगर-रंगेली-आमबारी सडक (हुलाकी सहायक राजमार्ग) अन्तर्गत रंगेली बजार क्षेत्रलाई सहरी सडकको मापदण्डअनुसार ४.९ किलोमिटरबाट बढाई ३० मिटरको बनाउने अभियान १ हप्ता अगाडि सुरु भएको थियो।

सो क्रममा नगरपालिकाले अटेरी गर्ने सर्वसाधरणको घर डोजर लगाएर भत्काउन सुरु गरेपछि केही जनप्रतिनिधिसहित पीडितले आफूहरूको घर जग्गा भत्काउन दिने तर, मुआब्जा पाउनुपर्ने माग गरेका हुन्।

‘सडक बनाउन सहयोग गर्ने हाम्रो हार्दिक इच्छा हुँदाहुँदै पनि हामीमध्ये केही व्यक्तिको हातमुख जोर्ने रोजगार र व्यापारको बाटो बन्द हुने, केहीको त उठिबास भई सर्वस्वहरण हुने जस्तै परिस्थिति सिर्जना भएको छ,’ प्रधानमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालकै अन्य ठाउँको स्थानीयले मुआब्जा र क्षतिपूर्ति पाएको देख्दा र सुन्दा हामी रंगेली बासीहरूले नपाउँदा हेपिएको, पक्षपातपूर्ण व्यवहार गरिएको र एउटै देशमा दुई किसिमको कानून भएको महसुस गरिरहेका छौँ।’

उनीहरूले आफूहरूको जग्गा जाँदा भएको सन्ताप र पीडामा कसैले मल्हमपट्टी लगाउन नखोजेको भन्दै दुःख व्यक्तसमेत गरेका छन्। ‘हाम्रो घर र जग्गा जाँदा जति शोक र सन्ताप हामीलाई भइरहेको त त्यस्तो शोक र सन्तापहरूलाई भइरहेको छैन,’ ज्ञापनपत्रमा भनिएको छ, ‘तसर्थ हाम्रो ठाउँमा उभिएर आफूलाई हामी जस्तै ठानी अति संवेदनशील भएर सहानुभूतिपूर्वक यथाशिघ्र हुलाकी सहायक राजमार्ग दायाँबायाँ बसोबास गरी उचित मुआब्जा र क्षतिपूर्ति दिलाउन सम्बन्धित निकायमा पहल गरि उचित मुआब्जा र क्षतिपूर्ति दिलाई दिनुहुन अति विनम्रतापूर्वक सादर अनुरोध गर्दछौँ।’

घर तथा अतिक्रमित संरचना भत्काएको विषयमा नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू नगरप्रमुख दिलीप बगडियाविरुद्ध आन्दोलित भएका थिए। नगरप्रमुख दिलीप बगडियाले मनोमानी ढंगले काम गर्ने गरेको र कार्यपालिका सदस्यलाई समेत वास्ता नगरी सडक विस्तारको काम गरेको भन्दै उनीहरूले नगरपालिकामा तालाबन्दी गर्ने यसअघि नै चेतावनी पनि दिएका छन्।

कार्यपालिकाका चार वडाध्यक्षसहित कांग्रेसबाट निर्वाचित सदस्यहरूले एक हप्ता अगाडि पत्रकार सम्मेलन गरी प्रमुख बगडियाले चार महिनादेखि कार्यपालिका बैठक नराखी मनोमानी गरेको आरोप लगाएका थिए।

रंगेली बजार क्षेत्रमा सडक क्षेत्रमा पर्ने संरचनाहरू नगरपालिकाले सोमबार स्काइभेटर लगाएर भत्काएको थियो। नगरपालिकाले सडक क्षेत्रमा पर्ने घरहरू हटाउन पटक-पटक जारी गरेको सूचनालाई अटेरी गरेपछि स्काइभेटर प्रयोग गरेको हो।

सडक विस्तारको क्रममा रंगेली बजारमा पर्ने मंगलचन्द अग्रवालको घर नगरपालिकाले डोजर लगाएर हटाएको थियो। अग्रवाल नगरप्रमुख बगडियाकै आफन्तसमेत हुन्। सडक क्षेत्रमा पर्ने अधिकांश संरचना स्थानीयले खाली गरे पनि कतिपयले अटेर गरेकोले बाध्य भएर डोजर चलाएको नगरप्रमुख बगडियाको भनाइ छ।

हुलाकी मार्गअन्तर्गत रंगेली क्षेत्रको करिब साढे ७ किलोमिटर सडक सय फिट चौडा हुँदैछ। सो क्षेत्रमा पर्ने सय वर्ष पुराना ८७ घरमध्ये ८० जना स्वतःस्फूर्त रूपमा घर भत्काइसकेको र अन्यले पनि भत्काउने क्रममा रहेको नगर प्रमुख बगडियाले बताए। कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले भने मुआब्जा वितरण गरेर मात्र घर भत्काउनुपर्ने मत राख्दै आएका छन्। नगरप्रमुख बगडियाले भने सडकको जग्गा अतिक्रमण गरेर बनेका संरचनामा मुआब्जा राज्यले नदिने भएकोले त्यो माग नै नाजायज भएको तर्क गर्दै आउनु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.