'संगीत क्षेत्रमा सम्मान गर्ने प्रवृत्ति नै छैन'
'संगीत क्षेत्रमा सम्मान गर्ने प्रवृत्ति नै छैन'
काठमाडौं : वि.स २०७४ को अन्त्यतिर नेपाली सांगीतिक बजारमा हर्क साउदको शब्द, कालीप्रसाद बाँस्कोटाको संगीत र हेमन्त रानाको स्वरमा रहेको 'साहिली' बोलको गीत आयो।
गीत बजारमा आएपछि एकाएक चर्चाको शिखरमा पुग्यो। हरेक उमेर समूहका व्यक्तिको जिब्रोमा यो गीत गुञ्जियो। गीतले वैदेशिक रोजगारमा जानेहरूको कथा बोलेको छ। तर, यो वैदेशिक रोजगारको कथाभन्दा पनि आम नेपालीले भोगेको सामाजिक यथार्थ बोकिएको गीत मान्छन् साउद।
गीत चर्चामा आउँछ भन्ने नै गीतकारले सोचेको हुँदैन र गीत लेख्नुपूर्व दिमागमा एउटा कथा निर्माण हुन्छ। उक्त कथालाई गीतमा रूपान्तरण गर्ने गरिन्छ। गीतको चर्चासँगै सीमित घेरामा रहेका साउदको परिचय पनि फराकिलो भयो। फरक परिचयको अनुभव पनि गरेका छन् उनले। 'पहिलो गीत नै चर्चामा आयो त्यो नै मेरा लागि गल्ती भयो', उनी ठट्टा गर्छन्।
तर, चर्चाको ग्राफ उकालो लाग्दै गर्दा गीतमा प्रयोग गरिएका शब्दहरूको बारेमा आलोचना पनि भयो। मौलिकता जोडिएका गीतमा प्रयोग भएका क्रियापद व्यावहारिक जीवनसँग नसुहाउँदो भयो भन्ने आलोचना भयो। यो विषयलाई पनि नजिकबाट नियालेका थिए साउदले। कुनै कुरा भेगीय हिसाबले पनि शब्द प्रयोग हुने गर्छ भन्ने बुझ्न जरुरी रहेको बताउँछन् उनी।
गीतमा नाम्लो निधारसँग र तेल आगोसँग जोडिएको छ। कुलोमा पानी कललल नहुने कतिपयको तर्क छ। उनी भन्छन्, 'जब तपाईं माटोसँग खेल्नुहुन्छ। तब मात्र माटोको रंग र बास्ना थाहा पाउनुहुन्छ। मैले लेखेका शब्द मैले मात्र बुझ्नुपर्छ भन्ने होइन। अरूले पनि खोजेर बुझ्नुपर्छ।'
उनको आशय हो, अनुभूति र अलंकारसँग जोडिएर गीत लेखिन्छ। भौतिक रूपमा देखिएका सबै गीतमा आउनुपर्छ भन्ने होइन।
उनले लामो समय गीत लेखनको अभ्यास भने गरेका छन्। यद्यपि, गीत लेखन भने यो गीत नै नै पहिलो हो। स्थायी घर डोटी नै हुँदाबाट उनी साहित्य कलामा आकर्षित थिए। त्यसपछि विसं २०५४ मा उनी पढ्न काठमाडौं आए। काठमाडौंमा उनले मानविकि संकाय पढे। मानविकी शिक्षाले उनलाई कला साहित्यको अनुरागप्रति झन् आकृष्ट बनायो।
यो लामो अवधिमा उनले कुनै गीत लेखेनन्। साहित्यमा अनुराग राख्ने व्यक्तिले यो लामो अवधिमा के गर्यो त? उनी भन्छन्, 'हरेक कुराको समय आउँछ। म समयको प्रतीक्षामा थिएँ। मसँग धेरै विषयमा लेख्न सक्ने गीत दिमागमा भण्डार छन्।' उनलाई आफू कोही व्यक्तिको अनुरागले भन्दा पनि साथी सर्कलको आत्मीयताले नै गीतकार बनेको हुँ भन्ने लाग्छ।
उनी गीत लहडमा गीत लेख्दैनन्। यो उनको आफ्नो बाटो नभएको बताउँछन्। कुनै थिम आयो भने उनी त्यो थिमलाई गीतमा परिणत गर्छन्। अथवा कसैले अफर गरे मात्र गीतबारे सोच्छन्। भन्छन्, 'मैले औँलामा गन्न सकिने गीत मात्र लेखेको छु। जति लेखेको छु। आफू सन्तुष्टि नै रहेको छु।'
औँलामा गन्न सकिने गीतमा लेखे पनि गीतकारको रूपमा भने उनी चर्चित छन्। उनको लेखनको प्रभाव विस्तारै बढिरहेको छ। नेपाली संगीत श्रोताको मनपर्ने गीतकारको रूपमा उनको उपस्थिति सम्मानजनक रहेको छ। तर, पनि यो क्षेत्र पूर्ण व्यावसयिक नभइसकेको बताउँछन् उनी। कतिपय व्यक्तिहरू गीत मात्र लेखेर बाँचेको दृष्टान्त छन्। तर,उनी भने गीत सिर्जना सँगसँगै व्यवसाय गर्छन्।
गीतकारको रूपमा नेपाली सांगीतिक क्षेत्रमा अगाडि बढिरहेका साउद संगीत क्षेत्रमा सम्मान गर्ने प्रवृत्ति नभएको बताउँछन्। उनी थप्छन्, ' यहाँ गीतकारहरूको पनि एकता नभएको सत्य हो।' एउटा गीतले सिंगो फिल्मको कथा बोलिदिन सक्छ। समाज बोलिदिन सक्छ। तर, गीतकारले पाउने पारिश्रमिक तुलना हेर्दा दिक्क लाग्दो छ। यहाँ गीतको महत्व बुझ्नहरू कम छन्। उनी भन्छन्. 'गीत खोजिन्छ। तर, गीतकार खोजिँदैन।'
सत्य के हो भने नेपालको परिवेशमा अझै पनि अधिकांशले गीत खोज्छन्। गीतकार खोज्ने प्रयास गर्दैनन्। गीतकार पर्दा पछाडि नै हुन्छ। अगाडि आउँदा अदृश्य हुन्छ।' उनले क्याप्टेन, साहिली, आप्पा, कबड्डी कबड्डी कबड्डी, डम्मरुको डण्डिबियो लगायतका चलचित्रमा गीत लेखेका छन्। पछिल्लो समय उनले लेखेको बटौली गीत चर्चामा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।