|

काठमाडौं :  साँघुरो गल्ली र व्यस्त व्यापारिक स्थलका रूपमा रहेको असन बजारका साना गल्लीहरूमा अग्नि नियन्त्रण पाइप जडान गरिएको छ।

यस क्षेत्रमा ठूला सवारीसाधनहरू प्रवेश गर्न नसक्‍ने र केही दैवी प्राकृतिक घटना आइपरे ठूलो क्षति हुने सम्भावनाका कारण काठमाडौं महानगरपालिका वडा २५ र  काठमाडौं जिल्ला रेडक्रस शाखाको नगर उत्थान कार्यक्रम अन्तर्गत त्यस क्षेत्रमा अग्नि नियन्त्रण पाइप जडान गरिएको हो।

काठमाडौंको सबैभन्दा व्यस्त व्यापारिक थलोको रूपमा असनलाई लिइन्छ। त्यस क्षेत्रमा साँघुरा गल्ली, ठूला सवारी साधन सहज रुपमा आवतजावत गर्न सक्दैनन्। अग्ला,होचा, आधुनिक र परम्परागत घरहरू पनि यहीँ छन्। असन क्षेत्रमा आगलागी भइहाले त्यस क्षेत्रमा ठूलो क्षति हुने भएकाले त्यस्तो नहोस् भन्‍नका लागि अग्‍नि नियन्त्रण पाइप जडान गरिएको महानगर प्रमुख विद्यासुन्दर शाक्‍यले बताए।

पाइप जडानमा कुल ९ लाख ४० हजार ६ सय १२ रुपैयाँ लागत खर्च भएको उनको भनाइ छ।  मुख्य चौक वरपर पाइप निर्माण गरिएकोले सबै स्थानमा दमकल पुग्न नसक्ने भएकोले पाइपमार्फत दमकलको पानी लगेर आगो नियन्‍त्रण गर्न सहज हुने उनको भनाइ छ। 

त्यसक्रममा आगलागी भइहालेमा आगोलाई कसरी नियन्त्रण गर्न सकिन्छ त्यसको अभ्याससमेत भएको थियो। प्रमुख शाक्यले यस ऐतिहासिक बजारमा भवितव्यमा केही घटना नहोस् भनेर पूर्वतयारीसहित गरिएको यो अभ्यास असनबासीको लागि लाभदायक रहेको बताए।

यस कार्मायमा राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाको सहयोग रहेको र महानगरले थप तीनवटा दमकल किन्न तयारी गरिरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.