|

काठमाडौं : गायिका आस्था राउतले सुरक्षा जाँचका क्रममा 'भद्रपुर विमानस्थलमा प्रहरीले आँफूमाथि दुर्व्यवहार गरेको’ आरोप लगाउँदै जारी गरेको भिडियो अहिले भाइरल भएको छ। भिडियोमा भनिए अनुसार ‘हातमा कफी बोकेर’ सुरक्षा जाँचस्थल पार गर्न लागेकी उनलाई ड्युटीमा रहेकी महिला प्रहरीले ‘तँ’ भन्दै ज्याकेट फुकाल्न अह्राएकी थिइन्।

प्रहरी प्रशासनप्रति आक्रोशित तवरले प्रस्तुत भएकी आस्थाबारे सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको मत विभाजित देखिन्छ। एकाथरीले ‘प्रहरीको अभद्र शैलीको विरोध गर्ने आस्थाको शैली झनै अभद्र रहेको’ बताइरहेका छन् भने अर्का थरीले ‘जस्तालाई त्यस्तै व्यवहार गरेर’ उनले ठीक गरेको बताएका छन्। आस्था स्वयंले भने आफुले प्रयोग गरेका केही शब्दलाई लिएर ‘त्यस्तो नबोलेको भए हुनेथियो, तर आवेशमा बोलें’ भनेकी छन्। 

विमानस्थल छिर्दा होस् वा निस्कँदा, यात्रुले कडा सुरक्षा जाँच भएर गुज्रनुपर्ने हुन्छ। सुरक्षा जाँचको तह भने संवेदनशीलताको आधारमा देश वा विमानस्थलपिच्छे फरक–फरक हुनसक्छ। ‘भिभिआइपी वा भिआइपी’बाहेक सबै यात्रुले लामवद्ध भएर सुरक्षा जाँच पार गर्नुपर्छ। ‘भिभिआइपी वा भिभिआइपी’को सूचीमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा अन्य उच्च ओहदाका पदाधिकारी तथा ‘स्टेट गेस्ट’हरू पर्दछन्।

सुरक्षा जाँचलाई सेलिब्रिटीहरूले कहिलेकाहीँ अपमानमा रुपमा पनि लिने गर्दछन्। जस्तो कि आस्थाको भिडियोमा देख्न सकिन्छ। ती महिला प्रहरीले ‘कफीको कप भुइँमा राख्न र ज्याकेट फुकाल्न अह्राएकी’ मात्रै हुन् वा अरू दुर्व्यवहार गरेकी हुन् खुलिसकेको छैन। आस्थाले ‘तँ’ भनिएकाले आफुलाई चोट पुगेको बताएकी छन्। प्रहरीले घटनाबारे छानबिन थालिएको जनाएको छ।
 
सामान्यत: सुरक्षाकर्मीको ध्यान भने सुरक्षा कायम गर्नुमा मात्रै हुन्छ, यात्रु सेलेब्रिटी हो वा होइन भन्ने कुराले सुरक्षा जाँचलाई केही असर पार्दैन। सबै यात्रु समान जाँच प्रकृयाबाट गुज्रनुपर्ने हुन्छ, किनकि त्यहाँ सबै यात्रीको हैसियतमा हुन्छन्।

झन्झटरहित तरिकाले विमानस्थलको सुरक्षा जाँच पार गर्न यात्रुले के के कुरामा ध्यान दिनुपर्छ त? सातवटा बुँदा यहाँ प्रस्तुत गरिएको छ।

धातुजन्य सामग्री सकेसम्म कम पहिरिनुहोस्

धातु प्रयोग भएका ज्याकेट वा जुत्ता सकेसम्म नलगाउनुहोस्। गरगहना पनि कम प्रयोग गरेको राम्रो। धातुजन्य पेटी लगाउनुभएको छ भने सुरक्षाद्वारमा पुग्नुअगावै फुकाल्नुहोस्। गोजीमा साँचो आदि राख्नुभएको छ भने निकालेर चेकपोइन्टमा उपलब्ध हुने बास्केट वा ट्रेमा राख्नुहोस्।
 
पियर्सिङ गर्नुभएको छ भने सम्भव भएसम्म फुकाल्नुहोस्, अन्यथा तपाईं प्याट–डाउन जाँचबाट गुज्रनुपर्ने हुन्छ। प्याट डाउनमा यात्रुका अगंहरूसमेत मसिनोसँग जाँचिन्छ। सुरक्षाकर्मीले तपाईंका संवेदनशील अंगहरूको समेत जाँच गर्न सक्नेछन्। प्याट–डाउन गर्न चार–पाँच मिनेट समय लाग्छ। त्यसले पनि चित्त नबुझे सुरक्षाकर्मीले सर्वाङ्ग नग्न बनाएर पनि यात्रुको जाँच गर्नेछन्।

सजिलै फुकाल्न मिल्ने जुत्तामोजा लगाउनुहोस् 

तपाईं ७५ वर्षभन्दा कम उमेरको हुनुहुन्छ भने सुरक्षा जाँचका क्रममा जुत्ता फुकाल्नुपर्ने पनि हुनसक्छ। तपाईंको अघिल्तिर रहेको ‘मेटल डिटेक्टर’ हुँदै दिनहुँ हजारौं मान्छे ओहोरदोहोर गरिरहेका हुन्छन्।

त्यस्तो ठाउँमा नाङ्गो गोडा हिँड्नु स्वास्थ्यको दृष्टिले ठीक हुँदैन। त्यसैले, मोजा लगाउन कहिल्यै नभुल्नुस्, सजिलै फुकाल्न मिल्ने जुत्ता लगाउनुस्। त्यसो गर्दा झन्झट पनि हुँदैन, समयको बचत पनि हुन्छ।

जेल वा तरल पदार्थ बोक्नुभएको छ भने छुट्टै प्लाष्टिकमा राख्नुहोस्

जेल वा तरल पदार्थलाई छुट्टै प्लाष्टिक झोलामा राख्नुहोस्। त्यस्ता सामग्री ब्रिफकेसको उपल्लो भागमा राख्नुहोस्। पुछार राख्नुभयो भने ती सामग्रीहरू ‘सेक्युरिटी स्क्यानर’मा राम्ररी देखिँदैनन्। जसले गर्दा तपाईंलाई पुरै ब्रिफकेस खोल्न अह्राइनसक्छ, सुरक्षा जाँचका लागि आफ्नो सामान पसारो पार्नपर्ने हुनसक्छ।

औषधि तथा मेडिकल सामग्रीलाई अलग्गै राख्नुहोस्

औषधि तथा मेडिकल सामग्रीहरुलाई अलग्गै राख्नुहोस्। धेरै बोक्नुभएको छ भने काजगपत्र बोक्न नभुल्नुहोस्। 

कतिपय औषधिहरू एक्सरे जाँच मेसिनमा राख्न नहुने किसिमका हुन्छन्। त्यस्ता औषधि छन् भने डाक्टरको सिफारिससहितको कागज देखाएर सुरक्षाकर्मीलाई आफ्नो औषधिको संवेदनशीलता बुझाउनुहोस्। औषधीजन्य सामग्रीहरू कहिल्यै लगेजमा नराख्नुहोस्, हातेझोलामा राख्नुहोस्।

परिचयपत्र बोक्न नभुल्नुहोस्

सुरक्षा अधिकारीहरूले जुनसुकै बेला तपाईंको परिचयपत्र खोज्न सक्छन्। बोर्डिङ पास साथमा हुनुमात्रै कहिलेकाँही पर्याप्त नहुनसक्छ।

त्यसैले पासपोर्ट, ड्राइभिङ लाइसेन्सजस्ता परिचय खुल्ने कागजहरू साथैमा राख्नुहोस्। त्यसो गर्दा झमेलामा पर्नु पर्दैन।

ड्युटी फ्री छुटको सीमाबारे अगावै जानकारी लिनुहोस्

ड्युटी फ्रीको सीमाबारे अगावै थाहा पाइएन भने विमानस्थल भन्सारमा कर तिर्नुपर्ने हुन्छ। 

सुनचाँदी, इलेक्ट्रोनिक आइटम, पेयपदार्थ आदिमा सरकारले ड्युटी फ्रीको सीमा तोकेको हुन्छ। जस्तो कि ड्युटी फ्री पसलमा तपाईंले दुई लिटर रक्सी किन्नु भयो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लिटरभन्दा धेरै बाहिर ल्याउन पाउनुहुन्न, तपाईंको सामान विमानस्थल भन्सारले जफत गर्नेछ।
 
वरपर ध्यान दिनुहोस्, अरु यात्रुहरुको गतिविधि नियाल्नुहोस्

पहिलोपटक विमानमार्फत कतै जाँदै हुनुहुन्छ भने तपाईंलाई त्यहाँको सुरक्षा जाँचप्रकृया अनौठो लाग्नसक्छ। आफुलाई सकेसम्म सहज बनाउँदै वरपरको गतिविधि नियाल्नुहोस्। अरु यात्रुहरुले जाँचपासका लागि आफुलाई कसरी तयार पार्दैछन्, हेर्नुहोस्। 

उनीहरूको गतिविधिलाई पच्छ्याउनुसोस्। विमानस्थल जहिले पनि भिडभाडयुक्त हुने भएकाले तपाईंको पाकेट मारिनसक्छ, सामान चोरी हुनसक्छ। त्यसतर्फ पनि ध्यान दिनुहोस्।

सुरक्षाकर्मीसँग नजिस्कनुहोस्, सुरक्षा संवेदनशीलताबारे ठट्टा नगर्नुहोस्

बिदा मनाउन कतै गइरहेका मानिसहरू रमाइलो गर्ने मुडमा हुन्छन्। यसको अर्थ सुरक्षाकर्मीसँग पनि ठट्टामजाक गर्दा हुन्छ भन्ने होइन। सुरक्षाकर्मीसँग कहिल्यै नजिस्कनुहोस्। उनीहरूको कामको संवेदनशीलता महशुस गर्नुहोस्, मजाक नउडाउनुहोस्। 

साथै ‘बम विस्फोट’, ‘अपहरण’, आदिजस्ता सुरक्षासँग जोडिएका विषयमा छलफल नगर्नुहोस्। यसले तपाईंमाथि अनावश्यक शंका पैदा हुनसक्छ। अनावश्यक दु:ख पाउन सक्नुहुन्छ।

‘कफी पिउँदै’ सुरक्षा जाँच पास गर्ने ‘आइडिया’ पनि उचित होइन।

र अन्त्यमा,

सुरक्षा–जाँच एक अनिवार्य प्रकृया हो। सुरक्षाकर्मीले तपाईंको मात्रै जाँच गरेका होइनन्। 

त्यसैले सहज भएर सुरक्षाकर्मीलाई सघाउनुहोस्। तपाईंको ओहदा, सार्वजनिक व्यक्तित्व वा तपाईं समाजका कति प्रसिद्ध हुनुहुन्छ भन्ने कुरा सुरक्षाकर्मीलाई थाहा नहुन पनि सक्छ। उनीहरुलाई यात्रुको प्रसिद्धिबारे जानकारी हुन आवश्यक पनि छैन, उनीहरूको चासो भनेको सुरक्षामात्रै हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.