|

सिरहा :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसमा सिँचाइ र भौतिक पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताएका छन्।
सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिकामा आयोजित झण्डा मेला को उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

उनले मधेसको मुख्य समस्या नै सिँचाइ रहेको भन्दै कमला–कोशी डाइभर्सनको  काम बढाउनुपर्नेमा जोड दिए। उनले कोशी–कमला डाइभर्सन निर्माण चाँडै सुरु हुने पनि विश्वास व्यक्त गरे।

अध्यक्ष प्रचण्डले हुलाकी सडक निर्माण तीव्र गतिमा भइरहेको भन्दै निर्माण पूरा भएपछि मधेसबासीमा नयाँ खुसीयाली आउने बताए। उनले हुलाकी सडक बनेपछि यस भेगका जनता आर्थिकरुपमा समृद्ध हुने बताए। 

दाहालले सिरहाका अन्य केही सडक र पुल निर्माण गर्नुपर्ने जानकारी पाएको भन्दै त्यसका लागि पनि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए।

एक फरक प्रसंगमा उनले तराई–मधेस र पहाडलाई जोडेर आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने सोचका साथ अगाडी बढिरहेको बताए। 

उनले संविधान संशोधनका लागि पार्टी सकारात्मक रहेको भन्दै मधेससँग आफुले गरेको प्रेम टुट्न नदिने बताए। ‘सिरहा आउँदा आफ्नै घर आएजस्तो लाग्छ’, उनले भने, ‘माइत आएको महसुस हुन्छ।’

यस्तै नेकपा नेता मातृकाप्रसाद यादबले मधेस–पहाडका उत्पीडित जनता एकजुट नभएसम्म अधिकार नपाउने बताए।

उनले एउटा मधेसी दल सरकार छोड्दा अर्को दल सरकारमा आउन खोजेको भन्दै मधेसी जनता एकजुट नभएसम्म संविधान संशोधन नहुने धारणा राखे।

सखुवा नन्कारककट्टीमा ‘कला संस्कृति हाम्रो स्वभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ मूल नारासहित बिहीबारदेखि १० दिने मेला सुरु भएको हो।

स्थानीय कृषिलाई आधुनिकीकरण गर्न प्रोत्सान, बालविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा न्यूनीकरण, विद्यार्थीको क्षमता अभिवृद्धि, स्थानीय व्यवसाय प्रवर्धन तथा आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ महोत्सवको गरिएको गाउँपालिका अध्यक्ष तथा महोत्सव आयोजक मूल समितिका संयोजक केदारनाथ यादवले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.