ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङमा दर्जनौं रमणीय र पर्यटकीय स्थान छन्। तर, प्रायः प्रचारप्रसारका कारण ओझेलमै छन्। तीमध्ये सदरमुकामबाट नजिकै रहेको सिद्धिडाँडा पनि एक हो। सदरमुकाम फुङलिङबाट डेढ किलोमिटर दूरीमा मात्र रहे पनि सिद्धिडाँडाको यथेष्ठ प्रचार-प्रसार हुन सकेको छैन।
सिद्धिडाँडामा रहेको पोखरीबाट अटुट पानी आइरहने पाँच वटा धारा, शिव मन्दिर र गुम्बा छन्। वरिपरिको सुन्दर अलैंची बगान रहेकाले त्यहाँ पुगेपछि नौलो अनुभूति लिन सकिन्छ।
‘बजारनजिकैको गाउँले परिवेश, स्वच्छ हावापानी एवं प्राकृतिक सुन्दरता यहाँका आकर्षण हुन्,’ स्थानीय छत्र गुरुङले भने, ‘महाबौद्ध ठिसुङ गुम्बा र चण्डेश्वर महादेवधाम एकै ठाउँमा रहेकाले धार्मिक सहिष्णुताको झल्को आउँछ,’ यस क्षेत्रमा प्रवेश गरेलगत्तै दायाँ-बायाँ पोखरी देख्न सकिन्छ।
पोखरीको बीचमा हिमाल आकारको ठूलो ढुंगा छ। ढुंगामाथि पानी निस्कन्छ। ‘कृत्रिम यो दृश्य प्राकृतिक जस्तै लाग्छ,’ बिदा मनाउन पाहुना र परिवारसहित पुगेका रोशन लिम्बूले भने,‘पाहुनालाई छोटो समयमा घुमाउने उपयुक्त स्थान हो यो।’ त्यहाँबाट ५० मिटर उकालो हिँडेपछि मन्दिर र गुम्बा पुगिन्छ। त्यहाँ पनि तीन वटा स-साना पोखरी छन्।
बस्नका लागि फलामे चौतारा बनाइएको छ। यो फुङलिङ नगरपालिका ९ मा अवस्थित यस ठाउँमा गुरुङ समुदायको बाक्लो बस्ती रहेको छ। यहाँ पुग्न फुङलिङ बजारबाट गाडीमा १५ मिनेट र पैदल आधा घण्टा समय लाग्छ। यहाँसम्म पहिरो छिचोल्दै कच्ची सडक पुगेको छ। सवारी साधनको नियमित पहुँच नहुँदा र पर्याप्त प्रचारप्रसार नहुँदा पर्यटकीय सम्भावना भए पनि सिद्धिडाँडा ओझेलेमा परेको गुरुङ बताउँछन्।
सरोकारवालाको चासो
आन्तरिक पर्यटकका रुपमा स्थानीयले पाहुनालाई घुमाउन लगे पनि बाह्य पर्यटकलाई यो गन्तव्यको विषयमा थाहै छैन। तर यसको सम्भावनालाई नियाल्दै पछिल्लो समय विभिन्न सरोकारवालाको समेत यस क्षेत्रको विकासमा चासो दिन थालेका छन्। चालु आर्थिक वर्षमा नै वडाको ४ लाख बजेटले सिँडी निर्माण गरिएको छ।
यस्तै पर्यटन बोर्ड र जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाई विराटनगरको २०/२० लाख बजेटबाट भौतिक संरचना निर्माण तथा पोखरी संरक्षणको काम गर्ने तयारी छ। यसका लागि उपभोक्ता समिति गठन गरिसकेको सो स्थान रहेको वडा फुङलिङ नगरपालिका ९ का वडाध्यक्ष तारानाथ बरालले जानकारी दिए।
‘हामीले मन्दिर परिसरमा भौतिक पूर्वाधारको निर्माणलाई निरन्तरता दिएका छौँ’ वडाध्यक्ष बरालले भने, ‘सवैभन्दा समस्याको विषय भनेको बाटो हो।’ सो सडकलाई कालोपत्रे गर्नसके पाथिभरा तथा कञ्चनजंघा घुम्न आएका पर्यटक त्यहाँसम्म पुग्ने वडाध्यक्षको विश्वास छ। सो सडक कालोपत्रेका लागि गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत भइसकेको छ।
गत आर्थिक वर्षमा पनि सो सडकका लागि करिव डेढ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। तर त्यो रकम त्यसै 'फ्रिज' भएको थियो। ‘सडकको डिपिआर पनि भइसकेको छ। सडक निर्माणका लागि प्रदेश सरकारसँग पनि पहल गरिरहेका छौँ’ वडाध्यक्षले बरालले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।