|

भद्रपुर : भारतबाट आयातित विषादीयुक्त तरकारी तथा फलफूल भद्रपुर नाकाबाट बिनाभन्सार भित्रिन थालेपछि वडा प्रहरी कार्यालय भद्रपुरले बल्ल कडाइ गरेको छ। सीमा खटिएका सशस्त्र प्रहरी र भन्सार कर्मचारीले तरकारी तथा फलफूल बिनाभन्सार वा थोरै मूल्य बराबरको राजश्व लिएर ठूलो परिणाममा छाड्न थालेपछि वडा प्रहरीले त्यसतर्फ सक्रियता बढाउँदै कडाइ गरेको हो। 

वडा प्रहरीले तरकारी र फलफूलमा कडाइ गरेसँगै सोमबार साँझ आलु र प्याज लोड गरिएको दुई वटा पिकअप नियन्त्रणमा लिएको छ। प्रहरीले भद्रपुर भन्सार कार्यालय अगाडिबाट लगिएका आलु र प्याज नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए।

प्रहरीका अनुसार मे १ ज २२१८ नम्बरको पिकअपमा ४५ बोरा प्याज र मे १ ज नम्बरको पिकअपमा ४५ बोरा आलु नियन्त्रणमा लिएको हो। ‘कारोबारीले ती आलु र प्याज भारतको गलगलिया नाकाबाट भद्रपुर भित्राएको हो,’ प्रहरी निरीक्षक पुरीले भने, ‘१० बोरा आलु र २१ बोरा प्याजको मात्र भन्सार तिरेको प्रज्ञापन पत्रमा उल्लेख छ। भन्सार प्रज्ञापन पत्र तिरेको भन्दा बढी आलु र प्याज पिकअपमा लोड गरिएको भेटिएकोले नियन्त्रणमा लिएका हौं।’

कारोबारी मोना सिंह बिर्तामोडले २१ बोरा प्याज र चिन्टु बिर्तामोडले १० बोराको प्रज्ञापन पत्र काटेको पत्रमा उल्लेख छ। त्यसै गरी बिना भन्सार बिर्तामोड लैजान लागेको ४६ बोरा तरकारी समेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पुरीले बताए। पिकअप कोला प्लेट भएकोले छाडिएको र प्याज, आलु र तरकारी आवश्यक कारबाहीका लागि मंगलबार भद्रपुर भन्सार कार्यालय बुझाउने उनले बताए। 

सशस्त्र र भन्सार कर्मचारी सेटिङ

कारोबारीले भद्रपुर भन्सार कार्यालय अगाडि खटिने सशस्त्र र भन्सार कर्मचारीसँग सेटिङ मिलाएर बिनापरीक्षण तथा बिना भन्सार ठूलो परिणाममा भारतबाट आयातित तरकारी तथा फलफूल भित्रिन दिइरहेका छन्।

कारोबारीले साइकलमामार्फत भित्राउने तरकारी तथा फलफूल बापत सशस्त्र र कर्मचारीलाई कमिशन दिने गरेको छ। भन्सार अगाडीबाट भित्रिने तरकारी तथा फलफूल भन्सारदेखि ३ मिटर पर भण्डारण गरी राख्ने र त्यहाँ पिकअप भ्यानमा लोड गरेर बिर्तामोड सम्मको बजारमा पुर्‍याउने गर्दै आइरहेको छ।

काँकडभिट्टा नाकामा तरकारी तथा फलफूलमा कडाइ गरेपछि कारोबारी भद्रपुर नाका रोजेको हो। त्यसैगरी चिनबाट लसुन नेपाल आउन छाडेपछि कारोबारीले भद्रपुर नाकाबाट ठूलो परिणाममा लसुन भित्र्याउन थालेको छ। कारोबारीले भन्सारसँगको सेटिङमा लसुनलाई आलु भन्दै प्रज्ञापनपत्र काटेर झापादेखि काठमाडौं सम्मका बजारमा पुर्‍याइरहेका छन्। लसुनको भन्सार आलु भन्दा बढी हो। 

बिनाभन्सारको तरकारी लान चालकले मानेन

वडा प्रहरीले आलु र प्याज लोड गरिएको दुई वटा पिकअप भ्यान नियन्त्रणमा लिएपछि पिकअप चालकले बिनाभन्सार तरकारी र फलफूल लान छाडेको पाइएको छ।

कारोबारीले थोरै तरकारी तथा फलफूलको भन्सार तिरेर धेरै परिणामको लान खोज्दा पिकअप चालकले त्यस्तो काम नगर्ने इन्कार गर्न थालेको चालकहरू स्वयं बताउँछन्। यसै क्रममा मे १ ज २४०३ नम्बरको पिकअपमा लोड गरिएको ४६ बोरा तरकारी मध्ये १५ बोराको मात्र भन्सार प्रज्ञापन पत्र चालकले देखेपछि सबै सामान अन लोड गरिएको स्थानीय बताउँछन्।

भन्सार पूरै तिरेर ल्याएको तरकारी तथा फलफूल मात्र बोक्ने चालकले सो कारोबारी समक्ष राख्दै लोड गरिएको सामान झारिदिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.