मनाङ : जिल्लाको चामे गाउँपालिकामा रहेको एनएमबी लघुबित्तकी कर्मचारी कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेकी छिन्। कास्कीको हेम्जामा प्रमुख कार्यालय रहेको यस लघुबित्तको शाखा कार्यलय चामेमा दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत कल्पना गुरुङ गत आइतबार पक्राउ परेकी हुन्।
उनको नाममा ६० लाख ७० हजार रुपयँ अनियमितता देखिएपछि प्रमुख कार्यालयबाट उच्च अदलत कास्कीमा उजुरी परेको थियो। उजुरीसँगै उनलाई पक्राउ गरी अवश्यक अनुसन्धान गर्न अदालतले पत्र पठाएको हो।
अदालतको आदेशअनुसार उनीलाई गत आइतबार उनकै निवासबाट सीमा प्रहरी चौकी धारापानीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको थियो। पछिल्लो अनुसन्धानबाट उनले ४३ जनाको नाममा किर्ते तमसुक बनाई कर्जा निकालेको समेत खुल्न आएको जिल्ला प्रहरी कार्यालय चामे मनाङले जनाएको छ।
मनाङ नासों गाउँपालिका-४ निबासी कल्पना गुरुङलाई हाल थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चामे मनाङमा हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। निजलाई बैंकिङ कसुरसँगै ठगी मुद्धासमेत लागेको उच्च अदालत कास्कीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।