|

इलाम : इलामा जारी छैटौ संस्करणको माइभ्याली गोल्डकपमा गोर्खा ब्वाइज रुपन्देहीले सुरुवाती जित निकालेको छ।

प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा पाहुना टोली कोहीमा इगल नागाल्यान्डमाथि ४–० गोल अन्तरको जित निकाल्दै रुपन्देहीले इलामे मैदानमा सुखद सुरुवात गरेको हो।

पहिलो हाफ निक्कै प्रतिस्पर्धात्मक बनेपछि दुवै टिमले गोल गर्न सकेनन्। दोश्रो हाफमा उत्कृष्ट खेल पस्किएको रुपन्देहीका लागि ४ वटै गोल सम्भव बन्यो। २१औँ मिनेटमा विदेशी खेलाडी हजमतले रुपन्देहीका लागि पहिलो गोल गरे। ३२औँ मिनेटमा फोफोना फोडेले अग्रता दोब्बर बनाए।

इन्जुरी समयमा रुपन्देहीले थप २ गोल गर्‍यो। शक्ति राईले इन्जुरी समयमा व्यक्तिगत पहिलो गोल गरेको एक मिनेट नबित्दै दोश्रो गोलसमेत थपेपछि रुपन्देही ४-० फराकिलो गोल अन्तरको जितका साथ क्वाटरफाइनल प्रवेश गर्‍यो। सेमिफाइनल प्रवेशका लागि अब रुपन्देहीले फागुन १९ गते 'ए' डिभिजन लिग विजेता मच्छिन्द्र क्लबलाई प्रतिद्वन्द्वीको रूपमा पाएको छ।

खेलको म्यान अफ दि म्याच विजेता टिमका शक्ति राई घोषित भए। रुपन्देहीका एडमा डुम्बिायाले पहेलो कार्ड पाए। दोश्रो प्रि–क्वाटरफाइन खेलमा आयोजक माइभ्याली फुटबल क्लबले अर्को पाहुना टोली ग्यान्टोक सिटी सिक्किमको सामना गर्नेछ।

खेलपछि प्रतिक्रिया दिँदै नागाल्यान्डका प्रशिक्षक केहीगुह्वाङग्वेले पहिलो पटक भारतका बाहिर प्रतियोगितामा सहभागीता जनाएकाले अपेक्षिकृत खेल हुन नसकेको बताए। उनले पाएको केही राम्रा अवसर सदुपयोग हुन नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए।

यता, रुपन्देही प्रशिक्षक किशोर केसीले पहिलो हाफमा विपक्षी टिमको बारेमा जानकारी नहुँदा गोल स्कोर हुन नसकेको बताए। उनले दोश्रो हाफमा विपक्षीको कमजोरीको फाइदा उठाउँदै ४ गोल भएको बताए। युवा प्रतिभा पहिचानको उद्देश्यका साथ युवा खेलाडीसहित इलामे मैदानमा रुपन्देही आएको केसीले बताए।

फागुन २४ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद ८ लाख र उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस वर्ष प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल वा स्कुटरको साटो नगद १ लाख २५ हजार प्राप्त गर्नेछ।

प्रतियोगिताको व्यक्तिगत विधाका खेलाडीले समेत नगद पुरस्कार पाउने छन्। प्रतियोगितामा लिग लिडर मच्छिन्द्र, दोश्रो टोली त्रिभुवन आर्मीसहित १० टिमको सहभागिता रहेको छ।

खेलकुदको विकास नै देशको विकास मापन : मन्त्री आङ्बो

गोल्डकप उद्घाटन समारोहका प्रमुख अतिथि प्रदेश-१ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले खेलकुद क्षेत्रको विकासले हरेक देशको विकास मापन हुने बताए। उनले १३औँ दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा नेपालले देखाएको प्रदर्शनले विश्वमा नै नेपालको छवि उच्च बनाएको बताए।

खेलकुद क्षेत्रको विकास देशको समग्र विकाससँग तुलना हुने उनको भनाइ छ। हाल देशमा रहेका तीनै तहका सरकारले खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले देश समृद्धितर्फ उन्मुख भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.