|

डोल्पा : हिमाली जिल्ला डोल्पामा यस बर्ष समयमै नयाँ पाठ्यपुस्तक पुगेको छ। नयाँ शैक्षिक सत्र सुरु भएसँगै फागुन दोस्रो साताभित्र मध्य र तल्लो डोल्पाका पाँचवटै स्थानीय तहमा नयाँ पाठ्यपुस्तक वितरण सुरु गरिएको हो।

यसअघिका वर्षहरुमा पाठ्यपुस्तक ढुवानीमा ढिलाइ हुने गरे पनि यस वर्ष भने फागुन पहिलो साता नै विद्यालय तहका नयाँ पाठ्यपुस्तक पुगेको छ।

डोल्पाका पाठ्यपुस्तक एजेन्टले कक्षा २ देखि १० सम्मका पाठ्यपुस्तक ल्याउने समयसम्म कक्षा १ को पाठ्यपुस्तक नछापिएकाले ल्याउन नसकिएको त्रिपुरासुन्दरी नगरपालिकाका एजेन्ट पूर्णकेशर न्यौपानेले बताए। आफ्नो कार्यक्षेत्रभित्र पर्ने साविकका त्रिपुराकोट, लिकुलगायतका गाविसका ५० प्रतिशत पाठ्यपुस्तक विद्यालयलाई वितरण गरिसकेको जानकारी दिए।

त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रभित्र पर्ने ३२ वटा विद्यालयमा पाठ्यपुस्तक पु¥याउन चारजना एजेन्टले जिम्मा लिएका छन्। त्यसैगरी तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकामा पनि जुम्लाबाट खच्चडमा ढुवानी गरेर नयाँ पाठ्यपुस्तक पु¥याइसकिएको छ।

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका पनि कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक वितरण गरिसकिएको छ। कक्षा १ को पाठ्यपुस्तक नछापिएकाले सँगै पठाउन नसकिएको हो। 

मुड्केचुला गाउँपालिकामा पर्ने १४ वटा विद्यालयका लागि दुईजना एजेन्टले प्रत्येक वर्ष नयाँ पाठ्यपुस्तक ढुवानी गर्दै आएका छन्। 

कक्षा १ को पाठ्यक्रम परिवर्तन भएकाले छपाइ ढिलाइ भएको नयाँ मुलुक प्रकाशन प्रालिका अध्यक्ष मेघराज वलीले बताए। नेपालगञ्जमै कक्षा १–४ का पाठ्यपुस्तक छापिने कार्य सुरु भइसकेकाले कर्णालीमा पाठ्यपुस्तकको अभाब नहुने उनको भनाइ छ।

एजेन्ट विष्णुलाल बुढाले जिल्लामै फागुन पहिलो साताभित्रै सदरमुकाम दुनैमा पाठ्यपुस्तक पु¥याएर वितरण गरेका थिए। सोही नगरपालिकाअन्तर्गत जुफालमा पर्ने सौगात स्टेशनरीका प्रोपराइटर गोपाल शाहीले भने कक्षा १ देखि १० सम्मका नयाँ पाठ्यपुस्तक ढुवानी गरेका छैनन्। शाही अहिलेसम्म सम्पर्कमै नआएकाले बताइएको छ।

त्यसैगरी काइके गाउँपालिका र उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, छार्काताङ्सोङ्, शे–फोक्सुण्डो गाउँपालिकाका नयाँ पाठ्यपुस्तक पनि दुनै पुर्‍याइएको छ। काइके गाउँपालिका पाठ्यपुस्तक वितरण सुरु भए पनि उपल्लो डोल्पाका विद्यालयका लागि ल्याइएका पाठ्यपुस्तक सदरमुकाम दुनैमै थन्किएका छन्। अत्याधिक चिसोका कारण कात्तिक अन्तिमदेखि बिद्यालय बन्द भएको र आगामी बैशाखमा मात्रै खुल्ने भएकाले उक्त समयसम्म पाठ्यपुस्तक दुनैमा राखिने जनाइएको छ।

डोल्पामा यस वर्ष कक्षा ५ देखि १० सम्मको ३ हजार ८०० सेट पाठ्यपुस्तक पठाइएको जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जले जनाएको छ। त्यसैगरी कक्षा १ देखि ४ सम्मका चार हजार ८०० सेट पाठ्यपुस्तक खपत हुँदै आएको निजी प्रकाशनले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.