|

सर्लाही : सर्लाहीको आधा दर्जन स्थानीय तहका किसानले लगाएको बाली जंगली जनावरले नष्ट गर्दै आएको छ। लालबन्दी, ईश्वरपुर, हरिवन, हरिपुर, बरहथवा, बागमती नगरपालिकाका किसान जंगली जनावरबाट पीडित भएका छन्।

जंगल नजिकै रहेको खेतमा रातको समयमा जंगली जनावर पसेर बाली नास गर्ने गरेको स्थानीय किसान टीकादेवी खड्काले बताइन्। ‘जंगलको छेउमा खेत छ,’ उनले भनिन्, ‘जे लगाए पनि जंगली जनावरलाई ठिक्क, बाली त उठाउनै पाइँदैन।’

दिउँसोभरि रुगेर बस्ने गरे पनि जनावर रात परेपछि बालीमा पस्ने गरेको हरिपुर–१ जानकी नगरका किसान मिनबहादुर पोखरेलले बताए। जंगली जनावरले बाली सखाप पार्न थालेपछि किसानहरुले बाली जोगाउन तारबार गर्न थालेको पोखरेलले बताए। मूर्तिया जंगलको नजिक रहेको खेतबारीमा लगाएको मकै, आलु बालीमा नीलगाई, बाँदर, हरिण, बँदेल, दुम्सीलगायत जंगली जनावर पसेर बाली नष्ट गरेको उनको भनाइ छ। जंगली जनावरले बालीमा क्षति गरेको डिभिजन वन कार्यालयमा पटकपटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको किसानहरुको गुनासो छ।

यस क्षेत्रमा वर्षौदेखि जंगली जनावरले दुःख दिँदै आएको छ। जंगली जनावरबाट हुने क्षति रोक्न स्थानीयवासीले प्रतिकठ्ठा जग्गा भएका धनीलाई ५०० रुपैयाँका दरले रकम उठाएर तारजाली लगाएका छन्। तारजाली लगाएपछि जंगली जनावरबाट हुने क्षति केही कम भएको किसाहरुले बताए। 

नियन्त्रणको नाममा चोरी सिकारी बड्यो

बाली नष्ट गरेपछि जंगली जनावर नियन्त्रणको नाममा अवैध वन्यजन्तुको चोरी सिकारी बढेको स्थानीयको भनाइ छ। रातको समयमा जंगली जनावरले बालीनालीमा बढी नोक्सान पु¥याउने भएकाले सोही समयमा शिकार खेल्ने समूह बढेको वागमती नगरपालिका–१० का शेष मुर्तुजाले बताए।

बरहथवा, हरिपुर, वागमती, लालबन्दी र ईश्वरपुरको वनक्षेत्रमा अवैध हतियार, करेन्ट र जालको प्रयोग गरी जंगली जनावर चोरी शिकार भइरहेको स्थानीयहरु बताउँछन्। डिभिजन वन कार्यालयको बेवास्ताका कारण वन क्षेत्रमा पर्ने जानकीनगर, शंकरपुर, फुलजोर, सागरनाथ, हजरिया, राजघाट घुर्कौली चुरेक्षेत्र लगायतको स्थानमा बँदेल, हरिण, नीलगाई, दुम्सी, मृगलगायत वन्यजन्तुको अवैध चोरी शिकारी बढ्दै गइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.