|

धनकुटा : मुलुकमा शान्ति, समृद्धि र स्थायित्वको नारालाई स्थापित गर्न भन्दै देशभर साइकल यात्रा गरिरहेका ओमप्रकाश बानियाँ धनकुटा आइपुगेका छन्। सोमबार धनकुटा आएका उनले मुलककै गहनाका रूपमा रहेका पर्यटकीयस्थल नेपालमा भएकाले तिनीहरूलाई थप प्रोत्साहन गर्नसके मुलुकको समृद्धिमा टेवा पुग्ने भन्दै साइकल यात्रामा निस्किएको बताए।

उनले शान्ति, समृद्धि र स्थायित्वको नारालाई स्थापित गर्न देश दौडाहमा रहेको बताए। चितवन जिल्लाबाट यात्रा सुरु गरेका २७ वर्षीय बानियाँले सोमबारसम्म ५८ वटा जिल्ला पार गरी धनकुटा आइपुगेको बताए।

उच्च शिक्षासमेत हासिल गरेका बानियाँ केही समय पहिले ५ वर्षका लागि वैदेशिक रोजगारीका लागि कतार बसेका थिए। सुनसरीको बराहक्षेत्र नगरपालिका घर भएका बानियाँले गत वैशाख १९ बाट देशभर साइकल यात्रा सुरु गरेका हुन्।

आगामी असोज १७ सम्ममा देशका ७७ वटै जिल्लाको साइकल यात्रा गरिसक्ने लक्ष्य रहेको पनि उनले बताए। टाउकोमा हेल्मेट र साइकलको अगाडि राष्ट्रिय झण्डा राखेर उनी साइकल यात्रामा छन।

७ वटै प्रदेशलाई चिनाउन देशभर साइकल यात्रा गरिरहेका बानियाँले नेपालको पहिचान देखाउने भन्दै सबै जिल्लाहरुमा नेपाल नै लेखेको प्रयोग गर्ने गरिरहेको बताए। उनले  ‘प्रदेश नं. १ मा विश्वकै अग्लो शिखर सगरमाथा, पाथिभारा मन्दिर, लगायतका आकर्षक ठाँउ र राणकालीन गौंडाको रुपमा रहेको धनकुटाको भेडेटार, राजारानी, हिले, पाख्रिबास लगायतका ठाउँमा रहेका धार्मिक तथा पर्यटकीय स्थललाई चिनाउन साइकलयात्राबाट धनकुटा आएको बताए।

आफ्नो साइकल यात्राले नेपालमा रहेका सम्पदाको प्रचार प्रसारमा मद्धत मिल्ने उनको भनाइ छ।

आफ्नो देशको माया छातीमा राखेर साइकल यात्राले देशको सबै जिल्ला घुम्न सकिने उनको भनाइ छ। एउटा मान्छेले सबै देशभरी यात्रा साइकलमा गर्न सक्छ भन्ने सन्देश दिन दौडाहमा रहे पनि आफूलाई केही मान्छेहरूले नराम्रो रुपमा हेरेको उनको गुनासो छ। उनले साइकल यात्राबाट पूरै देश घुमेर सबैलाई सन्देश दिने दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.