|

पाेखरा : गण्डकी प्रदेशका मन्त्रीहरुले दुई वर्षपछि सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। 

पदबहाली भएको ६० दिनभित्र सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउने तथा सार्वजनिक गुर्नपर्ने व्यवस्था छ।  गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले जारी गरेको आचारसंहितामा पनि स्पष्टसँग ६० दिनभित्र सम्पत्ति वितरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ। 

आफैंले बनाएको आचारसंहिता उल्लंघन गरेको भन्दै आलोचना भएपछि र गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिलेसमेत निर्देशन गरेपछि बुधबार बल्ल सम्पत्ति विवरण सार्वजनिक भएको हो। 

सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले ६ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। सामाजिक विकास मन्त्री नरदेवी पुनको प्राप्त नभएको प्रवक्ता बस्नेतले बताए। 

सार्वजनिक सम्पत्ति विवरणअनुसार सबैभन्दा धनी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ देखिएका छन्। अर्थमन्त्री किरण गुरुङको नाममा एक टुक्रा जग्गा र एउटा गाडी देखिएको छ भने श्रीमती कृष्णकुमारीका नाममा धेरै ठाउँमा सेयर छन्। सबैजसो मन्त्री बढी पैतृक सम्पत्ति मै रहेको देखिएको छ।  

मुख्यमन्त्री गुरुङसँग सुन, जग्गा, बैंकमा रहेको नगद र ८ भेंडा र ७ बाख्रासम्मको सम्पत्ति छ। मुख्यमन्त्री गुरुङसँग ५१ तोला सुन र ९० तोला चाँदी भएको विवरणमा उल्लेख छ। दाइजो, खरिद, पेवा र उपहारबाट सुनचाँदी प्राप्त भएको मुख्यमन्त्रीले स्रोत खुलाएका छन्। मुख्यमन्त्री गुरुङको गिलुङमा २०४५ सालमा किनेको घर र जग्गाको विवरण बुझाएका छन्। पृथ्वीसुब्बा गुरुङको जन्मगाउँ गिलुङ ८ मा १० रोपनी ३ आना २ दाम जग्गा छ। यो जग्गा उनलाई अंशबण्डाबाट प्राप्त भएको मुख्यमन्त्रीले स्रोत उल्लेख गरेका छन्  

मुख्यमन्त्रीको व्यक्तिगत खातामा १६ लाख ५० हजार रुपैयाँ नगद छ । एभरेष्ट बैंकको पोखरा शाखामा १५ लाख ५० हजार रुपैयाँ र सिभिल बैंकमा १ लाख रुपैयाँ मुख्यमन्त्रीको नाममा रहेको विवरणमा उल्लेख छ।

मुख्यमन्त्री पत्नी कुमारीमुनि गुरुङको नाममा सिभिल बैंकमा ३ लाख ५० हजार, जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा ५ लाख, राष्ट्रिय वाणिज्य बैंक जावलाखेलमा २ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । आवकास प्राप्त शिक्षक रहेकी मुख्यमन्त्रीपत्नी मुनिकुमारी अहिले क्होँलासोथर गाउँपालिका लमजुङकी उपाध्यक्ष हुन्। मुनिकुमारी पेन्सन तथा पारिश्रमिकबाट उक्त रकम जम्मा भएको स्रोतमा उल्लेख छ।

मुख्यमन्त्री गुरुङले छोरा, छोरीका नाममा पनि नगद र शेयर रहेको विवरण बुझाएका छन्। छोरा विज्ञान गुरुङको नाममा लक्ष्मी बैंकमा १० लाख, नबिल बेंकमा ६० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ। मुख्यमन्त्रीका छोरा पाइलट हुन् र उनले तलबमार्फत उक्त रकम जम्मा गरेको विवरणमा उल्लेख छ। 

विज्ञानका नाममा पिपुल्स हाइड्रो कम्पनीमा १५ हजार कित्ता शेयर रहेको छ। जग्गा बेचेर सेयर हालेर स्रोतमा उल्लेख छ। मुख्यमन्त्रीकी छोरी ईश्वरी गुरुङको नाममा १ लाख २० हजार रुपैयाँको स्कुटर, ५ लाख रुपैयाँको मोटरसाइकल छोरा विज्ञानको नाममा रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन्। 

स्वर्गीय बा तोलाराम गुरुङको भीमाद नगरपालिका–९ मा ८८ रोपनी २१ आना जग्गा छ। चार दाजुभाई र एक बहिनीिको सगोलमा रहेको यो पैतृक सम्पत्तिका रुपमा विवरणमा उल्लेख छ।

अर्थमन्त्री किरण गुरुङको नाममा कास्की पोखरा–१२ मा २ सय २५ वर्गमिटरको निजी जग्गा छ। सापटी लिएर यो जग्गा खरिद गरेको अर्थमन्त्रीले स्रोतमा उल्लेख गरेका छन्। यस्तै अर्थमन्त्री गुरुङको नाममा ४ तोला सुन, नयाँ कृषि अभियान सहकारीमा १० हजार, तनहुँ सूचना समाज सहकारीमा २५ हजार रुपैयाँ शेयर रहेको उल्लेख गरेका छन्। अर्थमन्त्री गुरुङको नाममा महेन्द्रा एण्ड महेन्द्राको स्कारपियो निजी गाडी रहेको र त्योे किस्तामा चलाइरहेको उल्लेख छ।

अर्थमन्त्री गुरुङको नाममाभन्दा धेरैजसो सम्पत्ति श्रीमती कृष्णकुमार श्रेष्ठको नाममा छ। कृष्णकुमारीको नाममा १५ तोला सुन छ। पैतृक तथा खरिद गरिएको स्रोतमा उल्लेख छ। ललितपुर धापाखेलमा ५ आना, पर्वत फलेवास नगरपालिकामा माइतीबाट प्राप्त ६ आना जग्गा श्रीमतीको नाममा रहेको विवरणमा उल्लेख छ।

सेल्फी इन्भेस्न्टमा कृष्णकुमारी नाममा ५ हजार सेयर कित्ता छ। गण्डकी प्रोपटी प्रालिमा १ लाख सेयर कित्ता रहेको उल्लेख छ। पोखरा रोयल सहकारीमा १ हजार सेयर कित्ता, रोयल दिदीबहिनी किचनमा २ लाख ७५ हजार नगद, क्लिन कन्सर्न पोखरामा २ लाख रुपैयाँ सेयर रहेको विवरणमा उल्लेख छ। 

अर्थमन्त्रीका छोरा केविन आकास र रवीन आकासका नाममा पनि शेयर छ । सेल्फी इन्भेस्टमै दुवैको नाममा ५÷५ हजार सेयर कित्ता रहेको अर्थमन्त्रीले खुलाएका छन्। सम्पत्तिको स्रोतमा निजी आर्जन भनिएको छ। अर्थमन्त्री गुरुङपत्नी कृष्णकुमारी लामो समय बेल्जियम बसेकी हुन्। 

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान आँबुखैरनी गाउँपालिका वडा नम्बर २ ढकालटारका स्थायीवासी हुन्। चुमान पत्नी धनकुमारीको नाममा २ रोपनी १ आना जग्गामा घर छ। स्रोतमा पैतृक सम्पत्ति उल्लेख छ ।

श्रीमती धनकुमारीकै नाममा आँबुखैरेनीमै ४ रोपनी ६ आना एक ठाउँमा, अर्को ठाउँमा ८ जग्गा र आफ्नो नाममा ५ रोपनी १३ आना जग्गा रहेको चुमानले खुलाएका छन्। 

पैतृक सम्पत्तिकै रुपमा चुमानसँग सुन १० तोला छ। एभरेस्ट बैंकमा १ लाख ५० हजार, माछापुच्छ्रे बैंक आँबुखैरेनीमा २५ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन्। यो तलबभत्ताबाट प्राप्त भएको चुमानले बताएका छन्। कृषि विकास बैंकमा ३२ सय कित्ता शेयर रहेको विवरणमा उल्लेख छ।

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतको गोरखा नगरपालिकामा ५० रोपनी जग्गा रहेको उल्लेख गरेका छन्। जग्गा गोरखा नपा ३ मा दाजुभाइ सगोलमै रहेको र यो पैतृक सम्पत्ति भएको बस्नेतले उल्लेख गरेका छन्। 

विभिन्न बैंकमा साँडे ५ लाख रुपैयाँ रहेको प्रवक्ता बस्नेतले देखाएका छन्। कृषि विकास वैंकमा २२३ शेयर, ६५ रोपनी जग्गामा फैलिएको २ लाख २५ हजार रुपैयाँको नमुना कृषि तथा पशुपक्षी फार्म छ। प्रदेशका यातायातमन्त्रीसमेत रहेका भौतिक पूर्वाधार मन्त्री बस्नेतसँग २०७४ साउन २ मा ४० लाख ५० हजार मूल्यमा खरिद गरेको ना ५ ख ५०३३ नम्बरको बस छ।  २०६० मा २० लाख नगदमा किनेको गोरखा बुक्स एण्ड स्टेशनरी प्रवक्ता बस्नेतको नाममा रहेको विवरणमा उल्लेख छ। 

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको पर्वतको फलेवास नगरपालिका ५ मा घरसहितको २ रोपनी ५ आनाको जग्गा छ। फेलेवासमै अर्को ३ रोपनीको छुटै जग्गा रहेको विवरणमा उल्लेख छ। यो जग्गालाई लम्सालले पैतृक सम्पत्तिका रुपमा स्रोत खुलाएका छन्। 

लम्सालसँग १० तोला सुन र ५० तोला चाँदी छ भने विभिन्न बैंकमा १५ लाख ४९ हजार नगद छ । अंशबण्डा, पैतृक, तलबभत्ताबाट यो जम्मा भएको लम्सालले स्रोत उल्लेख गरेका छन्। 

लम्सालले नियमित आम्दानी तथा तलबबाट कृषि विकास बैंकमा साधारण शेयर धितोपत्र ३०० कित्ता, छोराका निम्ति ३ लाखको मोटरसाइकल र छोरीका निम्ति २ लाख १० हजारको स्कुटर जोडेका छन्। 

पर्यटनमन्त्री लम्सालले कृषि विकास बैंकमा १५ लाख रुपैयाँ ऋण रहेको देखाएका छन्। ३५ लाख ऋण लिएको र २० लाख रुपैयाँ तिरिसकेको उनको विवरणमा उल्लेख छ। केका लागि ऋण लिएको भन्ने लम्सालले खुलाएका छैनन्। 

गोरखा नगरपालिका वडा नम्बर २ स्थायी घर भएका गण्डकी प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाको संयुक्त परिवारकै नाममा धेरै सम्पत्ति छ। थापाको ४ दाजुभाइले ४ करोड रुपैयाँ बराबरको जग्गा खरिद गरेको देखाएका छन्। यसको स्रोतमा उनले वैदेशिक आय तथा पैतृक उल्लेख गरेका छन्।  लेखबहादुरकै नाममा १ रोपनी ४ आना जग्गा छ। उनको परिवारका नाममा ४३ रोपनी जग्गा र ३५ तोला सुन रहेको विवरणमा उल्लेख छ। 

बैंक खातामा भूकम्प पुर्नर्निमाणबाट आएको १ लाख रुपैयाँ र ३ लाख ७ हजार रुपैयाँ पारिश्रमिक गरी नगद देखाएका छन्। उनले स्थानीय एक सहकारीमा १०० कित्ताको शेयर खरिद गरेका छन्। यसैगरी एक हल गोरु र ७ वटा बाख्रा पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.