दोस्रो परीक्षणका लागि स्वाब संकलन

|

बागलुङ : कोरोना भाइरस संक्रमण पुष्टि भएपछि धौलागिरि अञ्‍चल अस्पताल बागलुङमा उपचाररत बागलुङकी युवतीको स्वास्थ्यमा सुधार आएको छ। 

अस्पताल स्रोतका अनुसार, उनमा रहेको खोकी कम हुँदै गएको र आइतबारदेखि ज्वरो पनि आएको छैन। आइसोलेसनमा बसेदेखि नै कम खाना खाइरहेकी उनले सोमबार राम्रोसँग खाना खाएको निमित्त प्रमुख मेडिकल सुपरिटेन्टेडेट डा शैलेन्द्र बिक पोखरेलले बताए। ‘मनोपरामर्शको खाँचो महसुस गरेर हामी सोहीअनुसारको काउन्सिलिङ गरिरहेका छौं’ डा पोखरेलले भने, ‘उहाँको स्वास्थ्यमा आएको सुधारले हामी उत्साहित भएका छौं।’ स्वास्थ्यमा सुधार आएसँगै उनको दोस्रो चरणको कोरोना परीक्षण हुने भएको छ। 

परीक्षणका लागि सोमबारबाटै घाँटीको स्वाब निकालिएको उनले बताए। ‘आशा छ उहाँको यो परीक्षणको नतिजा नेगेटिभ आउँछ’, उनले भने,  ‘सुधारका संकेतहरुले निको भइरहेको महसुस हुन थालेको छ।’ ती युवतीको परिवार र उनीसँगै आएकाहरुको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ। सोमबार स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरि अञ्‍चल अस्पतालको छुट्टाछुट्टै प्रावधिक समूहले उनीहरुमा कोरोना परीक्षणका लागि नमुना संकलन गरेको हो। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला हुँदै केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पुग्‍ने नमुना परीक्षणको नतिजा आउन भने समय लाग्ने छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.