९ बजे हेलिकप्टर बाेलाए पनि गृहले तीन घन्टा ढिलाे गरिदियाे

|

बागलुङ : पुरानो घर र माइती भेट्न गएकी भीमा भुसाल पाण्डेको अत्यधिक रक्तश्रावका कारण ज्यान गएको छ । उनी गर्भवती थिइन् । पुर्ख्याैली घर र माइतीको आँगन टेकेर फर्किने मनसायले कपिलवस्तुको वाणगंगाबाट उनी लामो समय मलेसियाको रोजगारीबाट फर्किएका श्रीमान र परिवारसहित बागलुङ बुर्तिबाङ आएकी थिइन् । 

ढोरपाटन नगरपालिका–१ स्थायी घर हो उनको । तर कपिलवस्तुको बाणगंगामा बस्दै आएकी थिइन् । गण्डकी अस्पतालमा उनै भीमाको आज निधन भयो । पाठेघरबाहिर गर्भ बसेका कारण त्यसैको असरले उनको पाठेघरमा प्वाल परेको चिकित्सकले बताएका छन् ।
 
२०७७ सालको पहिलो दिन । माइतीघरमा अरू बेलाको जस्तो नभए पनि नयाँ वर्षको रौनक भने थियो नै । तर भीमाको अनुहारमा बेचैन देखेपछि परिवारले के भयो भनेर सोधे । ‘भीमाले रिंगटा लागेको, टाउको दुखेको बताएकी थिइन्,’ भीमाका दाजु कमल भुसालले भने । 

तत्कालै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उनलाई पुर्‍याइयो, त्यहाँ उपचार गर्दागर्दै ब्लड प्रेसर कम भएको भन्दै पोखरा लैजान भनियो । ‘ग्वालीचौरको खार पुगेका थियौं, प्रेसर झनै कम भएपछि त्यहीँ रोकेर हेलिकप्टर मगाउने निधो भयो,’ दाजु भुसालले भने । 
 
बडिगाड गाउँपालिकाको खार बजार पुग्ने बेलासम्म उनलाई बोकेको एम्बुलेन्सले १४ किलोमिटर दूरी मात्रै पार गरेको थियो। पोखरा पुग्न अझै धेरै बाटो रहेकाले उनको अवस्था कमजोर बन्दै गएकाले त्यहीँ रोकेर हेलिकप्टर मगाएको दाजु कमल बताउँछन् । 

‘९ बजे बिहान हेलिकप्टरलाई खबर भएको हो, गृह मन्त्रालयको फ्याक्स ढिलो आएको भन्दै ३ घण्टापछि मात्रै हेलिकप्टर लिएर पाइलट आए, हामीले प्रयास थाल्दा बित्तिकै हेलिकप्टर आएको भए बैनीको ज्यान बच्थ्यो,’ कमलले रुँदै भने । 
  
खारबाट हेलिकप्टरमा गण्डकी अस्पताल पोखरा पुर्‍याइएकी भीमालाई अस्पतालले मृत घोषणा गरिदियो । गण्डकी अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यका अनुसार अस्पताल नपुग्दै भीमाको ज्यान गइसकेको थियो । सामाजिक विकास मन्त्रालय गण्डकीको पहलमा उनलाई हेलिकप्टरबाट उद्धार गरी पोखरा पु¥याइँदै थियो । 

परिवारका अनुसार, उनलाई अस्पताल पुर्‍याउन ढिलो भएकै कारण भीमाले ज्यान गुमाउनु परेको हो । ‘नजिकैको पिएससी लान त हामीले ढिलो गरेनौं’, कमलले भने, ‘सरकारी प्रक्रिया पु¥याएर हेलिकप्टर आउँदा बैनीलाई बचाउने समय घर्किसकेको रहेछ ।’ 

गण्डकी अस्पतालले भने भीमाको ज्यान अस्पताल पुग्दा नै गइसकेको भन्दै यसबारे कुनै जानकारी गराएन । 

भीमाका १० वर्षका छोरा र ६ वर्षकी छोरी छन् । उनीहरु लकडाउनअघि सपरिवार बुर्तिबाङ आएका थिए । मृतक भीमाको दाहसंस्कारका लागि पोखराबाट सोमबार नै बागलुङ ल्याउने तयारी भइरहेको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.