समस्या परे खबर गर्न आग्रह

|

सिन्धुपाल्चोक : विश्वभर फैलिएको कोरोना भाइरस (कोभीड–१९) नियन्त्रणको लागि सरकारले आह्वान गरेको लकडाउनको २५ दिनपछि स्थानीय सरकारले बल्ल आफ्ना नागरिकको खोजी सुरु गरेका छन्। आफ्ना नागरिकले कामको सिलसिलामा देशको अर्को स्थानमा समस्या बेहोर्न परेमा सम्पर्क गर्न आह्वान गरेका हुन्। 

१२ स्थानीय तह रहेका सिन्धुपाल्चोकका पाँच स्थानीय तहले शनिबार राजधानी वा देशको जुनकुनै स्थानमा खान, बस्न समस्या भएमा आफ्नो स्थानीय सरकारलाई सम्पर्क गर्न आह्वान गरेका हुन्। खान, बस्न र परिवार भेट्न राजधानीबाट थातथलो हिँड्नेको सङ्ख्या बढेसँगै सिन्धुपाल्चोकका स्थानीय सरकारले आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिने प्रयत्न सुरु गरेका हुन्।

समस्या परे खबर गर्न आग्रह

चौतारा सँगाचोकगढी नगरपालिका प्रमुख अमानसिङ तामाङले शुक्रबार आफ्नो सामाजिक सञ्जालमार्फत नगरवासी नागरिकमा केही समस्या भए खबर गर्न आग्रह गरेका छन्। उनले कामको सन्दर्भमा देशको जुनकुनै स्थानमा भए पनि नगरपालिकाले सुरक्षित रुपमा ल्याई १४ दिन क्वारेन्टाईनमा राखिने उल्लेख गरेका छन्।

‘नगरपालिका को कोही नागरिक आफ्नो जन्मथलो फर्किन चाहनुभएको वा बाटोमा अलपत्र पर्नुभएको छ भने सम्पर्क गर्नुहोस्,’ तामाङले लेखेका छन्, ‘नगरपालिकाले सुरक्षित रुपमा नगर सम्म ल्याई स्वास्थ्य जाँचपश्चात घरसम्म पुर्‍याउने व्यवस्था गर्छ।’

उनले पालिकामा रहेको क्षेत्रिय क्वारेन्टाईनको क्षमता १० वेड थप्ने, जुनसुकै जिललामा पुगेका नगरबासीलाई सम्वन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारि सँग समन्वय गरि सहयोग गर्ने बताए।

विवरण खोज्दै लिसंखुपाखर

शनिबार कार्यपालिकामा छलफल गरी लिसङ्खुपाखर गाउँपालिकाले देशका विभिन्न ठाँउमा रहेका ज्याला, मजदुरी गर्नेको विवरण संकलन गरी तत्काल उचित व्यवस्थापनमा लाग्ने पालिका प्रमुख कमल नेपालले जानकारी दिए।

‘लिसङ्खु पाखरका कुनै व्‍यक्ति खान, बस्नमा समस्यामा परेका छन् भने उनीहरुको उचित व्‍यवस्था गरिनेछ,’ अध्यक्ष नेपालले भने, ‘घर आउन चाहनेलाई सुरक्षित रुपमा ल्याई क्वारेन्टाईनमा राखेर स्वास्थ ठीक भएको प्रमाणित भएपछि घर सम्म पुर्‍याउने पालिकाको तयारी छ।’ उनले वडा तहसम्मका व्‍यक्तिहरूलाई सम्पर्क गर्न आवश्यक मोबाइल नम्बरहरू उपलब्ध गराइएको जानकारी दिए।

त्यस्तै, बाह्रबीसे नगरपालिकाले पनि काम तथा पढाइको सन्दर्भमा नगरबाहिर रहेका नगरवासीलाई नगरपालिकाले सहयोग गर्ने जनाएको छ। नगरपालिकाले वडा तहसम्मका जनप्रतिनिधिलाई सम्पर्क गरी आफ्नो अवस्था जानकारी गराउन अनुरोध गरेको छ।

काठमाडौं स्ने वडाबासीलाई ४ हजार किलो चामल

लगडाउनको समय लम्बिँदै गएको र राजधानीमा ज्याला मजदुरी गरी बस्ने वडाबासीमा समस्या बढ्दै गएपछि त्रिपुरासुन्दरी गाउँपालिका–३ ले ४ हजार किलो चामल उपलब्ध गराएको छ। त्रिपुरा–३ का वडाअध्यक्ष सुकदेव रिसालले आफ्नो वडाबाट काठमाडौंमा समस्या भोगिरहेका वडाबासीलाई चामल वितरण गरिने बताए।

तीन सय बढी वडाबासीले काठमाडौंमा राहत सहयोका लागि सम्पर्क गरेको उनले बताएका छन्। त्रिपुरा सुन्दरी गााउँपालिकाले पनि लकडाउनबाट दैनिकी चलाउन समस्या भएका पालिकावासीलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

विद्यार्थीला अनेरास्ववियु र सुनकोशीमा नेकपाले सहयोग गर्ने

लकडाउनको समय लम्बिएसँगै ग्रामीण भेगबाट सदरमुकाम वा बजार क्षेत्रमा डेरामा बस्ने विद्यार्थीलाई आवश्यक सहयोग गर्ने अनेरास्ववियु सिन्धुपाल्चोकले जनाएको छ। शनिवार संगठनका संयोजक मिलन लामा र सहसंयोजक हीरा चौलागाईंले एक विज्ञप्ति जारी गरी खाद्यन्न अभाव भएका विद्यार्थीलाई राहत सहयोगको व्‍यवस्था गरिने उल्लेख गरेका छन्। विज्ञप्तिमा देशभरका जो कोही विद्यार्थी जिल्ला भित्र रहेका र खाद्यन्न समस्या भएमा सहयोग गर्ने उल्लैख छ।

त्यस्तै, सुनकोशी गाउँपालिकाबाट काठमाडौंमा पेशारत कसैलाई राहत सहयोग आवश्यक भएमा सुनकोशी काठमाडौं सम्पर्क समितिमार्फत सहयोग गरिने भएको छ। नेकपा सुनकोशीका अध्यक्ष प्रेमलाल लामाले काठमाडौं वा अन्यत्र कतै सिन्धुपाल्चोकवासी समस्यामा परेकाहरूलाई सम्‍पर्कमा आउन अनुरोध गरेको जनाएका छन्।

दीर्घरोगीलाई हेलम्बुको नि:शुल्क औषधि

लकडाउनको समय लम्बिएसँगै औषधि आपूर्ति र खरिदमा समस्या हुने आँकलन गरि हेलम्बु गाउँपालिकाले पालिका भरका दीर्घरोगका औषधि वितरण सुरु गरेको छ। गाउँपालिकाले शनिबारबाट दीर्घरोगका औषधि आवश्यक पर्ने हेलम्बुवासीलाई औषधि वितरण सुरु गरेको जनाएको छ।

‘गाउँमा दम, मुटु, नशा, प्रेसर तथा सुगरका बिरामी भेटिए,’ पालिका प्रमुख निमाग्याल्जेन शेर्पाले भने, ‘औषधि किन्न बजार जाने अवस्था नभएकोले पालिकाले वितरण गरेको हो।’ उनले १५ दिन पुग्ने औषधि उपलब्ध गराइएको जानकारी दिए।

मजदुरलाई जिल्ला समन्वयको खाद्यान्‍न

पुनर्निर्माण तथा अन्य विभिन्न कामको सिलसिलामा जिल्लामा रहेका असंगठित मजदुरलाई जिल्ला समन्वय समितिले खाद्यान्न सहयोग गरेको छ। जिल्लाभर १ सय ८१ मजदुरलाई खाद्यान्न सहयोग गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए।

उनले असंगठित रुपमा काम गरिरहेका मजदुरलाई आवश्यक सहयोग गर्ने जनाएका छन्। अति विपन्न तथा ज्यालादारी मजदुरलाई स्थानीय सरकारले राहत सहयोगको काम गरिरहेको उनले बताए। आफ्नो पालिकामा रहेका विपन्न तथा ज्यालादारी मजदुरलाई राहत सहयोग गर्दै आएको बलेफी गाउँपालिका प्रमुख केदार क्षत्रीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.