|

काठमाडौं : नेपाल वायु सेवा निगमले अमेरिकाको एएआर कम्पनीसँग एयरबस वाइडबडी ए ३३०-२०० को खरिद सम्झौता आउँदो मार्च महिनामा हुने जानकारी दिएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले १ सय ४ मिलियन डलरमा विमान खरिद सम्झौता हुने जानकारी दिए।

उक्त विमान आगामी असोजसम्म नेपाल ल्याइसक्ने योजना रहेको पनि उनले बताए। वाइडबडी विमान ल्याएपछि निगमले दमाम, सिओल, सिड्नी र टोकियोबाट व्यवसायिक उडान गर्ने योजना बनाएको छ। नयाँ विमान श्रमिक यात्रुमा निर्भर रहेकोमा वाइडबडी भने पर्यटक यात्रुलाई लक्षित गरी उडान गर्ने निगमले जनाएको छ।

निगमले खरिद गर्न लागेको विमान भर्खरै निर्माण हुँदै गरेको हुनाले बजारमा उपलब्ध नभइसकेको महाप्रबन्धक कंसाकारले बताए। 'हुँदै नभएको विमान किन्न लागियो भनेको ठीकै हो' उनले भने 'हामीले नयाँ विमान किन्न लागेका छौं, त्यो विमान भर्खरै बन्न लागेको हो।'

सरकारले २०७२ भदौ २९ गते निगमको विमान खरिद गर्न ग्यारेन्टी बस्ने स्वीकृति प्रदान गरेपछि खरिद प्रक्रिया अगाडि बढाउन बाटो खुलेको निगमले जनाएको छ। निगमले सन् २०१६ नोभेम्बर २६ मा ४५ दिने म्याद राखेर ग्लोबल टेन्डर आह्वान गरेको थियो। त्यस क्रममा ११ वटा कम्पनीले बोलपत्र पेश गरेकोमा छानिएको अमेरिकाको एएआर कम्पनीसँग सन् २०१७ को जनवरी २७ अर्थात २०७३ माघ १४ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.