धादिङ : सदरमुकाम धादिङबेसीबाट जिल्लाको विकट उत्तरी भेगको मूख्य गाउँबस्तीसम्म मोटर पुर्याउने लक्ष्यका साथ सडक निर्माण शुरु भएको २७ बर्षपछि रुवीभ्याली गाउँपालिकाको वड नम्बर ५ लापामा मोटर पुगेको छ।
धादिङको उत्तरी भेगमा पर्ने रुविभ्याली गाउँपालिकाको लापामा शुक्रबार निर्माण कार्यमा रहेको डोजरका लागि इन्धन र गाउँका लागि आवश्यक खाद्यान्न सामान बोकेर मोटर लापा पुगेको हो। लापाको ठूलोगाउँसम्म पुर्याउने योजनाअनुसार निर्माण भइरहेको सडकबाट लापासम्म मोटर पुगेको हो। रुवीभ्याली गाउँपालिकामा पर्ने साविकको लापा गाविसमा अहिलेसम्म सडक सञ्जालले छोएको थिएन।
विश्वमा महमारीको रुपमा फैलिईरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न मुलुकमा लकडाउन जारी रहेकै बेला कामदारको सुरक्षाका निम्ति सर्तकताका अपनाउँदै लापा ठूलो गाउँ जोड्ने सडक विस्तारको काम जारी राखिएको रुवीभ्याली गाउँपालिकाले जनाएको छ। वर्खा लाग्नासाथ त्यहाँबाट मेशिन फर्काउन समस्या हुने भएकाले अहिले सडक निर्माण कार्य जारी राख्नु परेको बताइएको छ।
भीरपाखा र उकालोओरालो हुँदै उत्तरी धादिङका स्थानीय वर्षौंदेखि कष्टका साथ सदरमुकाम आउजाउ गर्दै आइरहेका छन्। मोटरबाटोले नछोएका कारण लापाका गाउँबस्तीमा खाद्यान्न पुर्याउन खच्चडको भर पर्नुपर्ने, नत्र आफैंले बोकेर पुर्याउनुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता नरहने साविकको लापा वडा नम्बर ४ मा गाडी पुगेपछि स्थानीय सामाजिक कार्यकर्ता सुकलामा तामाङले बताए।
विकास र अवसरबाट टाढा पारिएको धादिङको उत्तरी भेगाका लापा, तिप्लिङ, सेर्तुङका गाउँबस्तीसम्म सडक पुर्याउने लक्ष्यका साथ अहिले निर्माणका कार्य भइरहेको छ। लापामा मोटर पुगेपछि जिल्लाको १३ वटै स्थानीय तह अब मोटरबाटोबाट जोडिन पुगेको तामाङ बताउँछन्। 'जिल्लाकै सबैभन्दा विकटको वासिन्दा भएका कारण लापाका नागरिक शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकार पाउनबाट पनि बञ्चित रहँदै आएका थिए। बिरामी पर्दा अस्पताल पुर्याउने बाटोसमेत थिएन, अब केही सुविधा पुग्ने आशा पलाएको छ,' स्थानीय स्वास्थ्यकर्मी पुरन तामाङले बताए।
सडक सञ्जालले नछोएको अति विकटको गाउँबस्तीसम्म मोटर पुर्याउने लक्ष्यका साथ बोराङको बतासे डाँडासम्म सडक निमार्णको काम यसअघि नै भएको थियो। अहिले बतासे डाँडाबाट लापा ठूलो गाउँसम्म जोड्ने गरी रुबीभ्याली गाउँपालिकाको ५० लाख र वागमती प्रदेश सरकारको ४० लाख गरि ९० लाख रुपैयाँको लागतमा काम भइरहेको तामाङले बताएका छन्।
जिल्लाका उत्तरी भेगका बस्तीसम्म मोटर वाटो विस्तार गर्ने लक्ष्यका साथ सदरमुकाम धादिङवेशीबाट साङ्गकोष हुंदै तिप्लिङ जोड्ने सडकको निर्माण कार्यको सुरुवात २०५० सालबाट सुरु भए भएपनि लापामा सडक सञ्जाल भने पुगेको थिएन।
धादिङवेशी-साङ्गकोष-तिप्लिङ सडक नाम दिइएको उत्तरी धादिङ जोड्ने सडक निमार्णकार्यका नाममा बर्षेनी करोडौं रुपैयाँ लगानी भइरहेपनि वर्षा याम लागेपछि मोटर गुड्न नसक्दा यहाँका वासिन्दाले निकै सास्ती खेप्नु परेकोमा अब भने त्यो समस्या नआउने लापाका राजनीतिक कार्यकर्ता दिनेश तामाङ बताउँछन्।
साविकको पाँचवटा गाविस तिप्लिङ, सेर्तुङ, लापा, रिगाउँ र झार्लाङसम्म मोटरबाटो नजोडिएका कारण सदरमुकामबाट गएका सवारीसाधन दार्खाको डुण्डुरेखोलासम्म पुगेर रोकिने गर्दथे। डुण्डुरेमा पुल नबनेकै कारण उत्तरी धादिङको रुबिभ्याली गाउँपालिकाअन्तर्गत पर्ने साविकको तिप्लिङ, सेर्तुङ, लापा र खनियाबास गाउँपालिकाअन्तर्गत पर्ने झार्लाङ जिल्ला सदरमुकामसँग सडक सञ्जालमा जोडिएको थिएन। सेर्तुङको बोराङसम्म सडक खनिएपनि डुन्डुरे खोलामा पुल नहुँदा सवारीसाधन खोलावारि नै रोकिने गरेका थिए। यात्रुवाहक जिप र बसले यात्रुलाई डुन्डुरेसम्म मात्रै पुर्याउने गरेका थिए। निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान पनि डुन्डेरे खोलासम्म मात्र पुर्याउने गरिएको थियो।
आधारभूत आवश्यकताबाटै वञ्चित हुनुपरेको स्थानीयको वषौंदेखिको माग र पहलपछि स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)ले डुन्डुरे खोलामा पाई आकारको स्ट्रिल ट्रस्ट ब्रिज बनाउन शुरु गरेको छ। आरजे कन्स्ट्रक्सन जेभि हिम्दुङ एन्ड थोकर कम्पनीले ठेक्का पाएको पुल एक वर्ष अघिनै बनाइसक्नुपर्ने सम्झौता भए पनि भौगोलिक अवस्थाका कारण निर्माण सामाग्री ढुवानीमा समस्या, डिजाइनमा सुधार गर्नुपरेका जस्ता कारणले पुल निर्माणमा केही समय ढिलाइ भएको पुलका साइड इन्चार्ज रामसिंह तामाङले बताए।
यसैगरी जिल्लाको उत्तरी भेगलाई सदरमुकामसँग मोटर सञ्जाल जोड्न त्रिपुरासुन्दरी गाउँपालिकाको लपाङफेदीमा पनि पक्की पुल निर्माण कार्य भइरहेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा सो पुल निर्माण हुन लागेको हो। प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) मार्फत खर्च गर्ने गरी निर्माण भइरहेको पुलको लागत पाँच करोड ५४ लाख ५० हजार रुपैयाँ रहेको छ। पुल निर्माणको ठेक्का रसुवा कन्ट्रक्शन जेभि एनएस कम्पनीले पाएका छन्।
साङकोष तिप्लिङ सोमदाङ सडक खण्डमा बाह्रै महिना मोटर चलाउन सक्नेगरी सडक स्तरोन्नती, नयाँ ट्रयाक निर्माण र ठाउँ ठाउँमा पुल बनाउने काम भइरहेको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।