|

सिन्धुपाल्चोक : पाँचपोखरी गाउँपालिकाले  कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन खाद्यवस्तुको आपूर्ति सकभर बाहिरबाट नगर्ने रणनीति बनाएको छ।

खाद्यवस्तु आयात गर्दा रोग भित्रन सक्ने भन्दै गाउँकै खाद्यान्न, तरकारी र मासुको प्रयोग गर्ने नीति बनाएको हो। जिल्लाको विकट हिमाली क्षेत्रको रूपमा चिनिने पाँचपोखरी थाङ्पाल गाउँपालिकाले कोरोना भाइरस संक्रमणविरुद्ध महत्वपूर्ण योजना कार्यान्वयनमा लागेको हो।

स्थानीय उत्पादनलाई परिचालन गरी खाद्यान्‍न परिपूर्ति गर्ने योजनाअनुसार गाउँपालिकाले खाद्यान्‍न प्रवेशमा रोक लगाएको पालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। स्थानीय जनताले खाद्य तथा मासुजन्य सामग्री भित्रँदा जोखिम बढ्ने बताएपछि यस्तो निर्णय गरेको उनले बताए।

स्थानीयले गाउँपालिका सिमानामा कडाइ गर्न आग्रह गरेपछि हेल्थ डेस्‍क निर्माण गरी सीमा प्रवेशमा कडाइ गरिएको लामाले जानकारी दिए। बस्तीबस्ती छिर्ने सडक र गोरेटोमा पनि निगरानी बढाएको उनले बताए।

‘बाहिरबाट आउनेलाई विशेष निगरानीमा राखिएको छ’, पालिका प्रमुख लामाले भने, ‘विदेशबाट गााउँपालिका भित्रने प्रत्येकको घरमा पुगेर स्वास्थ्य जाँच गरिएको छ।’ उनले दीर्घरोगीलाई घरमा औषधी पुर्‍याउने काम गाउँपालिकाले सुरु गरेको पनि उल्लेख गरे।

‘विदेशबाट आउनेको लगत संकलनमा गर्‍यौं र उनीहरुको परिवारलाई समेत विषेश निगरानीमा राख्यौँ’, लामाले भने। उनीहरुको स्वास्थ्य जाँचका लागि जनप्रतिनिधि स्वास्थ्यकर्मी र औषधिसहित घर–घरमा पुगेका छन्। 

स्थानीय स्तरमा २० बेडको क्वारेन्टाइन निर्माण गरेको छ। तर, त्यहाँ अहिलेसम्म कोही बसेका छैनन्। तिपेनीको क्षेत्रपालेश्वरीमा २० बेडको क्वारेन्टाइन निर्माण गरे तापनि गाउँपालिकाले क्षेत्रीय क्वारेन्टाइनलाई विशेष प्राथमिकता दिएको छ। सुरक्षा, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीको हिसाबले मेलम्चीमा बन्ने क्षेत्रीय क्वारेन्टाइन नै उपयुक्त हुने प्रमुख लामाको विश्वास छ।

विपद् परास्त गर्न सबै मिलेर लड्नुपर्ने भएकाले राजनीतिक दलबीच पनि सहकार्य जरुरी रहेको उनले बताए। सचेतना कार्यक्रम चलाउँदैं फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीको परिचालनलाई विशेष प्राथमिकतामा राखेको छ।

दीर्घरोगी र गर्भवतीको पनि तथ्यांक लिइँदै

स्वास्थ्य चौकी छेउछाउको चोक–चोकमा औषधि छर्किएको छ। गाउँपालिकाभित्र आठवटा स्वास्थ्य चौकी, ६ वटा वर्थिङ सेन्टर, दुईवटा स्वास्थ्य युनिट र मानेखर्कमा चिकित्सकसहितको स्वास्थ्य संस्थाले अहोरात्र काम गरेको स्थानीय तहले जनाएको छ। पालिकाले ठूलो संख्यामा सडक र खानेपानीमा काम गर्न बाहिरबाट आएका एक सय ५० मजदुरलाई घर फर्काइएको छ। बाँकीलाई तथ्याकं संकलन गरेर खाद्य सामाग्रीको व्यवस्थापन गरिएको  छ।

खान नपाउने नपुग्ने नागरिकको तथ्यांक संकलन भइरहेको र तथ्यांक आएपछि उनीहरुलाई राहत दिने  तयारीमा जुटेको लामा बताउँछन्।  विपद् व्यवस्थापन कोषको आकार बढाउन खोजिएको उनले बताए।

अन्य शीर्षकबाट केही रकम रकमान्तर गरी  कोरोना संक्रमण नियन्त्रण र राहत व्यवस्थापन गर्ने उनले बताए। पालिकाले गर्भवती र दीर्घरोगीलाई असहज हुन नदिन  उनीहरुको तथ्यांक संकलन गरी आवश्यक परे उद्धारका लागि तयारी अवस्थामा रहेको पालिकाले जनाएको छ। दीर्घरोगीहरुको औषधि व्यवस्थापन र वितरण शुरु गरिएको छ।

उनले प्रत्येक नागरिकको स्वास्थ्य बिमा कार्यक्रम अगाडि बढाउन केन्द्र सरकारलाई सुझाएका छन्। ‘शिक्षा र स्वास्थ्यलाई सामान्यीकरण गर्न यो जरुरी छ’, लामाले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.