|

सिन्धुपाल्चोक : कोरोना भाएइरस (कोभीड–१९) नियन्त्रणका तथा रोकथामका लागि सिन्धुपाल्चोकका  तीन स्थानीय तहका जनप्रतिनिधिले आफ्नो सेवा सुविधा स्थानिय विपद् ब्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन्। चौतारा साँगाचोकगढी नगरपालिकासहित इन्द्रावती र बलेफी गाउँपालिकाको निर्वाचित प्रतिनिधिले आफूले पाउने सुविधा  कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएका छन्।

मंगलबार चौतारा साँगाचोकगढी नगरपालिकाले पालिकामा निर्वाचित सबै जनप्रतिनिधिको १५ दिनमा प्राप्त हुने सुविधा कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिएको छ। नगरपालिकाले १५ दिन जनप्रतिनिधिको सुविधा बापतको ५ लाख ३० हजार नगर विपद् व्‍यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

त्यस्तै, बलेफी गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोष निर्माण गरी सञ्चालनमा ल्याएको छ। कोषको स्थापना गर्दै गाँउपालिका अध्यक्ष केदार क्षेत्री र उपाध्यक्ष कमला कायस्थले रु २०/२० हजार र आठै वटा वाडाका अध्यक्षले रु १५/१५ हजार सहयोगको निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

कर्मचारीको  तलबबाट कोषमा  एक लाख एकासी हजार ५८७ र वलेफी ६ का समाजसेवी चित्र शर्मा चौलागाईले रु तीन हजार ३३३ सहयोग गरेको गाउँपालिका कार्यकारी प्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए।

‘कोषको स्थापना गरिएको छ, स्रोत जम्मा गर्न लागिपरेका छौँ,’ पालिका प्रमुख केदार क्षेत्रीले भने, ‘हामी सचेतना जगाउँदै जनतालाई आवश्यक सामग्री जुटाउने क्रममा छौ।’ उनले यो विषम परिस्थितिमा सहयोगी भावना अभिव्‍यक्त गर्न अनुरोधसमेत गरेका छन्।

इन्द्रावती गाउँपालिकाको सम्पूर्ण पदाधिकारीले आफ्नो एक महिनाको सेवा सुविधा कोरोना रोकथामको लागि स्थानीय विपद् कोषमा जम्मा गर्ने भएका छन्। सिन्धुपाल्चोकको ईन्द्रावती गाँउपालिकाले पालिकाको सवै जनप्रतिनिधीको एक महिनाको सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए।

गाउँपालिका प्रमुख, उपप्रमुख, गाउँ कार्यपालिकासहित वडाका जनप्रतिनिधि समेतले एक महिनाको सबै सेवासुविधा कोषमा जम्मा गर्ने अध्यक्ष तामाङले जानकारी दिए।

गाउँपालिकामा कार्यरत अधिकृत तहका कर्मचारीले पाँच र सो भन्दा तल्लो तहका कर्मचारीले तीन दिनको पारिश्रमिक कोषमा जम्मा गरेको गाउँपालिकाले जनाएको छ। गाँउपालिकाले यस अघि नै ५० लाखको कोष स्थापना गरेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.