|

काठमाडौं : नसर्ने रोगहरु बढ्दै गएको भन्दै सरकारले यस्ता रोगबारे सचेतना जगाउन काठमाडौं उपत्यकामा हेल्थ प्रमोसन सेन्टरहरु स्थापना गर्ने तयारी गरेको छ।

मानिसहरुको चाप हुने स्थान पहिचान गरी कम्तिमा १० वटा हेल्थ सेन्टर स्थापना गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख महेन्द्र प्रसाद श्रेष्ठले जानाकारी दिए।

'काठमाडौंका विभिन्न २९ ठाउँमा रहेको सहरी स्वास्थ्य क्लिनिकमध्ये १० वटाको स्तरोन्नति गरी हेल्थ प्रमोसन सेन्टर स्थापना गर्न लागिएको हो। ठाउँहरुको पहिचान गरी मन्त्रालयमा प्रस्ताव पेश गरिसकिएको छ' उनले भने।

काठमाडौंको चाबहिलस्थित मैजुबहाल, मैतीदेवी, नक्सालस्थित नन्दी रात्री स्कुलको खाली रहेको जग्गा, कुलेश्वर, लैनचौर, पुरानो बर्सपार्क तथा डल्लुस्थित डल्लु आवास क्षेत्रमा रहेको निर्माणाधीन भवनमा हेल्थ प्रमोसन सेन्टर खोलिने श्रेष्ठले बताए।

यसरी राखिने हेल्थ सेन्टरहरुमा एकजना एमबीबीएस डाक्टर, एक जना जनस्वास्थ्य अधिकृत र ल्याब टेक्निसियन राख्ने तयारी छ। उनीहरुले रोगको पारम्भिक उपचार, परामर्श र रोगको प्रकृति हेरी विरामीलाई सम्बन्धित अस्पतालहरुमा रिफर गर्ने श्रेष्ठले बताए।

'पछिल्लो समय मानिसहरुमा नसर्ने रोगहरु धेरै देखिएको छ। विभिन्न कारणले मानिसहरमा मानसिक समस्या पनि बढ्दै गएको छ। त्यसैले रोगहरुको पारम्भिक परीक्षण गर्नुको साथै परामर्श दिन हेल्थ सेन्टर खोल्न लागिएको हो' जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले भने। 

हेल्थ सेन्टरमा नसर्ने रोगका बारेमा परामर्श, पिसाब जाँचद्वारा मिर्गौलाको परीक्षण, उच्च रक्तचापको निःशुल्क परीक्षणका साथै मानिसहरुलाई योग र मनोसामाजिक परामर्श समेत दिइने श्रेष्ठले बताए।

'हामीले स्थापाना गरेका हेल्थ सेन्टरले मानिसको स्वास्थ्यको परीक्षण गर्नुका साथै सेन्टरमा रहेका जनस्वास्थ्य अधिकृतको टोलीले होटल, रेस्टुरेन्ट, पसलहररुमा बेच्न राखिएका खाद्यान्नको अनुगमन पनि गर्ने छ' उनले भने। 

हाल सञ्चालन भैरहेका सहरी स्वास्थ्य क्लिनिकलाई परिमार्जन गरी थप जनशक्ति थपेर हेल्थ प्रमोसन सेन्टर खोल्न लागिएको उनको भनाई छ। 

काठमाडौं महानगरपालिका र स्वास्थ्य मन्त्रालयको संयुक्त लगानीमा सञ्चालन गर्न लागिएका हेल्थ सेन्टरको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने छ। 

रोग लाग्नै नदिनु, जोखिमा रहेका व्यक्तिलाई जोगाउनु र रोग लागेका व्यक्तिलाई सम्बन्धित अस्पतालमा पठाउनु सेन्टर स्थापनाको उद्देश्य भएको श्रेष्ठको भनाई छ। जोखिममा रहेका व्यक्तिले अपनाउनु पर्ने जीवनशैलीका बारेमा समेत परामर्श दिइने उनले जानकारी दिए। 

केही वर्ष अगाडि सरुवा रोगहरुले धेरै मानिसको मृत्यु हुने गरेको भए पनि पछिल्लो समय बदलिँदो जीवनशैली र खानपानमा आएको परिवर्तनले गर्दा नसर्ने रोगहरुको कारण धेरै मानिसको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.