काठमाडौं : संसदीय समितिले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको १४ दिनभित्र अनिवार्य पीसीआर परीक्षण गरिसक्न सरकारलाई निर्देशन दिएको छ।
मंगलबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कुनै व्यक्ति क्वारेन्टाइनमा बसेको १४ दिनभित्र पीसीआर गरिसक्न निर्देशन दिएको हो।
समिति सभापति विमल प्रसाद श्रीवास्तवले विदेशबाट आउने महिला, गर्भवती महिला, जेष्ठ नागरिक लगायतको निःशूल्क परीक्षणको व्यवस्था गर्न पनि निर्देशन दिएका हुन।
रोजगारी गुमाएर विदेशबाट आउने नागरिकहरुको व्यवस्थापन गर्दै स्वदेश आउनै पर्ने अवस्थामा रहेकाहरुर्ला तत्काल ल्याउन पनि समितिले निर्देशन दिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तत्काल नेपाल फर्किन चाहानेहरुको आधिकारिक तथ्याङ्क संकलन भइरहेको जानकारी दिए। विभिन्न प्राथमिकताका क्षेत्र तोकेर दुतावासहरुलाई तथ्याङ्क संकलनका लागि निर्देशन भएको उनले बताए।
कोभिड-१९ को संक्रमणको असर वैदेशिक रोजगारीमा गएका नेपालीहरुमा पनि परेको छ। अध्ययन वा अन्य शिलशिलामा विदेश गएका नागरिकहरु पनि लक डाउनका कारण उतै रोकिएका छन्। सरकारले आफ्ना नागरिक स्वदेश फर्काउने तयारी गरिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।