|

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध मुम्बई इण्डियन्स ३४ रनले विजयी भएको छ।

सारजाहमा आइतबार मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो।

उसका लागि कप्तान डेविड वार्नरले सर्वाधिक ६० रन बनाए। तर, उनले जित दिलाउन सकेनन्। वार्नरले आईपीएलमा आफ्नो कीर्तिमानी ४५औँ अर्धसतक बनाए।

वार्नर लिगमा सबैभन्दा धेरै अर्धसतक बनाउने खेलाडी हुन्। वार्नरपछि सुरेश रैना र रोहित शर्माले ३८-३८ अर्धशतक बनाएका छन्। हैदराबादका मनिस पाण्डेले ३० रन जोड्दा जोनी बेयार्स्टोले २५ रन बनाए।

बलिङमा मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन र जसप्रीत बुमराहले २–२ र कुणाल पाण्ड्याले एक विकेट लिए। यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनायो।

उसका लागि क्विन्टन डिककले ६७, इशान किसनले ३१, सूर्यकुमार यादवले २७, कुणाल पाण्ड्याले ४ बलमा अविजित २० र किरण पोलार्डले नटआउट २५ रन बनाए। बलिङमा हैदराबादका सन्दीप शर्मा, सिद्धार्थ कौलले २–२ र राशिद खानले एक विकेट लिए।

जितसँगै मुम्बईले ५ खेलमा ६ अंक जोडेको छ। मुम्बई शीर्ष स्थानमा समेत उक्लिएको छ। हैदराबादको भने यो तेस्रो हार हो । छैटौं स्थानको हैदराबादले ५ खेलमा ४ अंक जोडेको छ।

रोहितको नयाँ उपलब्धि

मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले सुरेश रैनाको कीर्तिमान बराबर बनाएका छन्। उनले १९३ आईपीएल म्याच खेल्दै रैनाको कीर्तिमान बराबर बनाएका हुन्।

अब रोहित पनि आईपीएलमा सर्वाधिक म्याच खेल्ने सूचीको दोस्रो स्थानमा उक्लिएका छन्। रैनाले यो सिजनमा व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि रोहितलाई उनको कीर्तिमान बराबर बनाउन सजिलो भयो।

आईपीएल इतिहासमा सर्वाधिक म्याच खेल्ने कीर्तिमान भने सीएकसेका कप्तान महेन्द्रसिंह धोनीको नाममा छ। उनले हालसम्म सबैभन्दा बढी १ सय ९४ आईपीएल म्याच खेलेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.