काठमाडौं : त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उद्घाटन खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ। नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो सवा १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको हो।
सिरिजको उद्घाटन खेलमा जित निकाल्ने लक्ष्यसहित नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रनेछ। नेदरल्यान्ड पिटर सिलारको कप्तानीमा मैदान उत्रने छ। आशिफ शेख, कुशल भुर्तेल र शाहब आलमले टी–२० अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन्। ओपनर ब्याट्सम्यान आशिफ, अलराउण्डर कुशल र स्पिनर शाहबले डेब्यू गरेका हुन्। बलियो टिम नेदरल्यान्ड नेपाललाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ।
नेपालले डेभ वाटमोरको प्रशिक्षणमा पहिलो पटक अन्तर्राष्ट्रिय म्याच खेल्न लागेको हो। नेपालले घरेलु मैदानमा पहिलोपटक त्रिकोणात्मक टी–२० सिरिज खेल्न लागेको हो। यसअघि २०१९ मा भएको १३औँ सागमा नेपालले टी–२० क्रिकेट खेलेको थियो। जसमा भुटान र माल्दिभ्ससँग खेलेको खेलले टी–२० मान्यता पाए पनि त्यो सिरिज थिएन।
नेदरल्यान्ड्स एसोसिएट राष्ट्रमध्यको बलियो टोली हो। टी–२० वरीयतामा नेदरल्यान्ड्सभन्दा नेपाल दुई स्थान अगाडि छ। नेपाल आईसीसी टी–२० वरियतामा १५औं स्थानमा रहँदा नेदरल्यान्ड्स १७औं स्थानमा छ। एसोसिएटतर्फ नेपाल तेस्रो तथा नेदरल्यान्ड्स पाँचौं स्थानमा छ। हेड टू हेड नेपाल र नेदरल्यान्ड्स एकअर्काप्रति चिरपरिचित प्रतिद्वन्दी हुन्। यी दुवै टोली सिरिजमा उपाधि दाबेदार हुन्। एसोसिएट राष्ट्रको बलियो टोली नेदरल्यान्ड्सलाई हराउनु नेपाललाई ठूलो चुनौती छ।
घरेलु मैदानमा हुने यो सिरिजमा नेपाली खेलाडीलाई राम्रो क्रिकेट खेल्ने मौका छ। चोटका कारण टिमका महत्वपूर्ण सदस्य पारस खड्काले सिरिज गुमाउने भएपछि नेपाली टिम केही कमजोर देखिएको छ । पारसको स्थानमा टिममा सन्दीप जोरालाई समावेश गरिएको छ। यस्तै, नेदरल्यान्ड्सलाई समेत नेपाली समर्थकसामु खेल्न सहज हुने छैन।
सरकारको कोरोना प्रोटोकललाई ध्यानमा राखेर क्यानले कम दर्शकलाई मैदान प्रवेशका लागि अनुमति दिँदैछ। हालसम्म नेपालले नेदरल्यान्ड्ससँग ८ टी–२० खेल खेलेको छ।
जसमा ६ टी–२० अन्तर्राष्ट्रिय र २ टी–२० खेल रहेका छन्। नेपालले ८ खेलमध्य जम्मा दुई टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले ५ खेलमा दुई टी–२० र तीन अन्तर्राष्ट्रियमा विजयी भएको छ।
नेपालको प्लेइङ ११
ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, आशिफ शेख, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल र साहब आलम।
तपाईंको ईमेल गोप्य राखिनेछ ।