|

विराटनगर : मोरङको विराटनगरमा रहेको नोबेल शिक्षण अस्पतालमा थाइराइड गाँठको जटिल शल्यक्रिया गरिएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुरकी ६६ वर्षीया फेकनीदेवी मण्डलको थाइराइड गाँठको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो।

उनको घाँटीको थाइराइड गलगाँठ बढेर बाहिर निस्किनुका साथै भित्री भागमा फैलिएर मुटुको रक्तनलीसम्म पुगेको थियो। घाँटीदेखि छातीसम्म चिरेर सफलतापूर्वक गलगाँठ निकालिएको टाउको तथा घाँटी क्यान्सरका वरिष्ठ शल्यचिकित्सक डा. ऋषिकेश ठाकुरले बताए। यस्ता जटिल शल्यक्रिया नेपालका अस्पतालहरुमा विरलै मात्र गरिने उनको दाबी छ।

‘यो जटिल सर्जरी हो। मुटुको आर्च अफ एओर्टा रक्तनलीसम्म पुगेको गलगाँठलाई हामीले सफलतापूर्वक सर्जरी गरेर निकालेका छौं‚’ उनले भने‚ ‘यस्तो सर्जरी नेपालका केही अस्पतालहरुमा मात्र हुन्छ।’

डा. ठाकुरका अनुसार गलगाँठ निकाल्न ढिलो भएको भए अझै बढेर श्वास नली र खाना नलीलाई थिच्ने भएकाले श्वासप्रश्वास अवरुद्ध भई बिरामीको ज्यानै जानसक्ने खतरा थियो। तर, गलगाँठ सफलतापूर्वक निकालिएकाले उनी अहिले खतरामुक्त भएकी छन्।

शल्यक्रिया सफल भएपछि बिरामी र आफन्त हर्षित छन्। बरामी फेकनीदेवीका छोरा लखन मण्डलले जटिल शल्यक्रिया सफल भएको भन्दै खुशी व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.