काठमाडौं : नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यन्वयन गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ।
महासंघका अनुसार पत्रकार र सञ्चारकर्मीलाई लामो समयदेखि तलब नदिने र निकाल्ने संस्थामाथि दबाब दिन आन्दोलन सुरू गरेको हो।
चरणबद्ध आन्दोलन थालेको महासंघले पहिलो दिन बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।
श्रमजीवी पत्रकारको पारिश्रमिक तत्काल भुक्तानी गर्न आन्दोलनमा उपस्थित महासंघका पदाधिकारीले प्रकाशन संस्था तथा सञ्चारमाध्यमलाई चेतावनी दिए।
महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारहरूका माग पूरा नहुन्जेल आन्दोलन जारी रहने बताए।
पारिश्रमिक नदिए पत्रकारहरू आबद्ध संस्था र सञ्चारमाध्यम तथा मिडिया मालिकहरूको घरसामु प्रदर्शन गरी दबाब दिने चेतावनी महासंघले दिएको छ।
अखबार, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा कार्यरत कैयौं श्रमजीवी पत्रकारले लामो समयदेखि पारिश्रमिक पाएका छैनन्।
पत्रकार महासंघको आन्दोलन (तस्वीरमा):
तपाईंको ईमेल गोप्य राखिनेछ ।