|

कञ्चनपुर ः स्थानीय सीपमा आधारित (रैथाने) विश्वविद्यालय स्थापनाको एजेण्डा लिएर कञ्चनपुरको निर्वाचन क्षेत्र २ (क) मा प्रदेशसभा सदस्यमा एक्ली युवा महिला उम्मेदवारका रुपमा गीता चौधरी चुनावी मैदानमा उत्रिएकी छन्।

नागरिक उन्मुक्ति पार्टीबाट ढकिया चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिनु भएकी चौधरी थारु समुदायको एक्लो उम्मेदवार रहेकी छन्। पेशाले कानुन व्यवसायी (अघिवक्ता) रहेकी उनी रैथाने विश्वविद्यालय स्थापनाका लागि एक वर्षदेखि संघर्ष गर्दै आएकी छन्।

‘दलित, थारुलगायत अन्य समुदायमा पुस्तौंदेखि पुस्तान्तरण हुँदै आएको सीप जगेर्ना गर्न विश्वविद्यालय स्थापना हुनु आवश्यक छ‚’ उनले भनिन्‚ ‘परम्परागत सीपलाई आधुनिकीकरण गरी व्यावसायिक बनाइनु पर्छ, यसका लागि युवाहरूलाई जागरुक बनाउन जरुरी छ।’

विश्वका विकासमा फड्को मारेका देशहरूको इतिहास अध्ययन गर्दा परम्परागत सीप अघि बढाउँदा समृद्ध भएको पाईएको उनले बताईन्।

​‘परम्परागत सीपको यहाँ कमी छैन, जोगाउने र आधुनिक बनाई व्यवसायमा परिणत गर्नुपर्ने खाँचोमात्र छ। परम्परागत सीपबाट निर्माण हुने सामग्रीले विश्व बजारमा निकै महत्व पाउन सक्छन्, यसलाई अगाडि बढाउनेको मात्रै आवश्यकता छ‚’ उनले भनिन्।

विश्वविद्यालयमा सीपमा आधारित विषयवस्तु राखेर कसरी अध्ययन अध्यापन गराउन सकिन्छ भन्नेमा ध्येय रहेको उनी बताउँछिन्। सीपमै आदिवासी जनजाति थारु समुदायको संस्कृति र पहिचान लुकेको छ।

यसलाई बचाउन संघर्ष गर्दै आएको उनको भनाई छ। ‘युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय परिषद सदस्य हुँदा नै विभिन्न राजनीतिक दलहरूसँग यसबारे निकै छलफल, बहस गर्‍यौं‚’ उनले भनिन्‚ ‘राजनीतिक दलहरूले यसलाई महत्व दिनु भएन, मन्त्रालयका योजनाहरूमा यस कुरालाई जोडतोडका साथ प्रवेश गराउने प्रयत्न गरियो तर सफल हुन दिईएन। देशको स्वाभिमान र पहिचानसँग जोडिएको कुरालाई कतैबाट महत्व नदिएपछि आफैँ राजनीतिको निर्णायक तहमा पुगेर काम अगाडि बढाउने सोचका साथ चुनावी मैदानमा उत्रिएकी हुँ।’

मतदाताले आफूले उठाएको चुनावी मुद्दालाई निकै चासोका साथ हेरेको उनको भनाई छ। चौधरीले रैथाने विश्वविद्यालयसँगै पहिचानको मुद्दा अघि सारेकी छिन्।पहिचानको मुद्दालाई गलत रुपमा अर्थ्याएर मतदाताबीच प्रतिस्पर्धीहरूले अतिरञ्जित प्रचार गरेर भोटबैंकलाई मजबुत पार्न खोजिरहेको उनी बताउँछिन्।

‘मतदाताले यस कुरालाई राम्ररी बुझेका छन्‚’ उनले भनिन्‚ ‘पहिचानलाई जातका रुपमा मात्रै हेरिनु हुँदैन। युवा, महिला, दलित, जनजाति सबैको साझा मुद्दा नै पहिचान हो। यसै कुरालाई मतदाताबीच बहसका रुपमा अघि सारेका छौं।’

सुशासन, सीमान्तकृत वर्गको उत्थान, दीगो विकास, जलवायु परिवर्तन र लैङ्गिक समानताका विषयवस्तुहरूलाई चौधरीले अरु चुनावी मुद्दा झैँ सँगसँगै लगेकी छन्।

‘समतामूलक समाज र राज्य व्यवस्थाको कुरा हाम्रो संविधानले नै व्यवस्था गरेको छ‚’ उनले भनिन्‚ ’यस कुरालाई कुर्सीको लडाइँमा लागेका राजनीतिक दलका नेताहरूले बिर्सिए, राजनीतिको मान्यता बिर्सिए। राजनीतिक क्षेत्र प्राज्ञिक क्षेत्र पनि हो, यसको कुनै सूत्र त हुनु पर्‍यो, यसविरुद्ध नै हो मेरो लडाइँ।’

जनताका आधारभूत समस्या शुद्ध पिउने पानी, स्वास्थ्य, शिक्षा, रोजगारका कुरालाई उनले चुनावी छलफल, सभा र प्रचारप्रसारका क्रममा उठाउँदै आएकी छन्। चौधरी कञ्चनपुरका प्रदेशसभा सदस्य पदको महिलामा र थारु समुदायको एक्लो उम्मेदवार हुन्।

‘समानताको हक पाउन नसकेका सीमान्तकृत वर्गको आवाज ल्याएर चुनावी मैदानमा उत्रिएकी छु, सबैको साथ पाएकी छु। निर्वाचनलाई आन्दोलनका रुपमा लिएर अगाडि बढेकी छु, राजनीतिक प्रवृत्ति सुधारका लागि मेरो लडाइँ हो‚’ उनले भनिन्। 

प्रदेशसभाको निर्वाचन क्षेत्र २ (क) मा  मतदाताको संख्या ५४ हजार ६८८ रहेको छ। जसमध्ये थारु मतदाताको संख्या १७ हजार छ।

कुल मतदाताको ४० प्रतिशत महिला मतदाता रहेका छन्। चौधरी महिला, थारु, जनजाति, युवा र बुद्धिजीवीको मतमात्र पाए पनि निर्वाचनमा विजयी हुनेमा ढुक्क छिन् उनी।

चौधरीसँगै उनका मुख्य प्रतिस्पर्धीमा लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का ओमविक्रम भाट, नेकपा (एमाले)का बच्चनबहादुर सिंह मुख्य रका छन्। स्वतन्त्र उम्मेदवार टेकबहादुर हमालसमेत बलियो प्रतिस्पर्धीका रुपमा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.