|

काठमाडौं : २०७८ साल मंसिरमा चितवनमा भएको एमालेको महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुको नाम पढ्नुअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईं ओलीसामु हात जोडेर ‘नमस्कार हजुरबुवा’ भन्दै थिए। 

महाधिवेशनभर सञ्चारमाध्यममा प्रचण्ड तथा माधव नेपाललाई गाली गरेर नथाकेका प्रसाईंले आशिर्वादस्वरुप ‘हजुरबुवा’ अर्थात ओलीबाट केन्द्रीय सदस्य पदको उपहार पाए। अध्यक्ष ओली र प्रसाईंबीचको सम्बन्ध भान्छादेखि ‘बेडरुमसम्म’को रहेको प्रसाईं आफैँ बताउँथे। 

तर पछि ओलीसँग उनको सम्बन्ध बिग्रिँदै गयो। पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर प्रसाईंले झापामा कार्यक्रम गरेपछि उनी एमालेबाट निष्कासनमै परे। त्यसयता उनी एमालेविरुद्ध खरो रुपमा उत्रिँदै आएका छन्। उनले पछिल्लो समय ओलीविरुद्ध पनि अभिव्यक्ति दिँदै आएका छन्। 

सामाजिक सञ्जालबाट एमालेविरुद्ध खनिएका प्रसाईंले वर्तमान व्यवस्था फालेर राजतन्त्र फर्काउने भन्दै मंसिर ७ गते काठमाडौँमा ‘जनविद्रोह’ गर्ने बताएका छन्। प्रसाईंले गणतन्त्र फालेर राजतन्त्र फर्काउने र जनतालाई ऋणबाट मुक्त गराउने जस्ता नारा लिएर गर्न लागेको जनविद्रोहको विरुद्धमा एमालेको भ्रातृ संस्था युवा संघ उत्रिएको छ। 

युवा संघले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गर्न लागेको बताए पनि प्रसाईंको कार्यक्रम बिथोल्ने मनशाय देखिएको छ। बाहिर फरक फरक उद्देश्य भनेर भने पनि मंसिर ७ को कार्यक्रम युवा संघका नेता महेश बस्नेत र प्रसाईंबीचको शक्ति प्रदर्शनको रुपमा लिइएको छ। 

गएको शनिवार केन्द्रीय कार्यालयमा भएको जनसंगठन पदाधिकारीहरूको विशेष भेलाले युवा संघले गर्ने भनेको ७ मंसिरको प्रदर्शनको अपनत्व मात्र लिएन, जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समितिलगायतका सदस्यको विशेष भेलाले सबै शक्ति ७ मंसिरको प्रदर्शनमा केन्द्रित गर्ने घोषणा पनि गरेको छ।   

मंसिर ७ को कार्यक्रमलाई लक्षित गर्दै युवा संघले मंगलवार राँके जुलुससमेत निकालेको थियो। 

प्रसाईंसँग किन भिड्दैछ एमाले? ​

प्रसाईं कुनै समय ओलीको प्रिय पात्र थिए भने बस्नेत अहिले पनि छन्। तर यी दुईबीचको तिक्तता पछिल्लो समय सामाजिक सञ्जालतिरै छरपष्ट छ। एकअर्काको चरित्र हत्या गर्नेदेखि कालोमोसो दल्ने र तोडफोड गर्नेजस्ता हर्कत गरिसकेका यी दुई मंसिर ७ गते काठमाडौंमा एकअर्काबीच भिड्ने मनशायमा देखिएका छन्। 

एमाले अध्यक्ष ओली र बस्नेतको चर्काे आलोचक भएर निस्केका प्रसाईंलाई केही महिनाअघि युवा संघले मोसो दलेको थियो। त्यसको प्रतिक्रियामा प्रसाईंका समर्थकले झापा पुगेका बस्नेतको कार्यक्रम नै बिथोल्ने प्रयास गरेका थिए। साथै बस्नेतको गाडी तोडफोड गरेका थिए।

एकले अर्कोलाई सकेसम्म होच्याउने प्रपञ्चमा लाग्दा हिंसा भड्किने जोखिमसमेत उत्तिकै छ। मंसिर ७ गते उनीहरुले एकैदिन काठमाडौंमा कार्यक्रम गर्ने भनेपछि हिंसा भड्किनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले विभिन्न ठाउँमा निषेधाज्ञा लगाउँदै उनीहरुलाई कार्यक्रम गर्न छुट्टाछुट्टै स्थान नै तोकिदिएको छ।

केही दिनपहिले बस्नेतको चरित्र हत्या हुने गरी आपत्तिजनक भिडियो सार्वजनिक भएपछि कतिपयले यसलाई प्रसाईंसँग जोडेर हेर्ने गरेका छन्। सार्वजनिक स्थलबाटै प्रसाईंले बस्नेतका यस्ता थुप्रै भिडियो रहेको उद्घोष गरिरहेका छन्। 

उसो त, प्रसाईँका पछिल्ला अधिकांश अभिव्यक्ति एमाले अध्यक्ष ओली लक्षित छन्। कम्बोडियाको टेलिकममा लगानी गरेको गम्भीर आरोप लगाएर उनले ओलीलाई क्रोधित बनाएका छन्।

कम्बोडियाको टेलिकममा लगानी रहेको आरोप प्रसाईंले लगाएपछि आत्तिएका ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै उनलाई कारबाही गर्नसमेत माग गरेका थिए।

​बैंक तथा केही व्यावसायिक घरानाकेन्द्रित अभिव्यक्तिका कारण चर्चा कमाइरहेका उनले आफूसँग रकम मागेको आरोप लगाएर रास्वपाका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठको पद नै फुस्काइदिएका थिए। एमाले नेता बस्नेत पनि विभिन्न अभिव्यक्तिका कारण चर्चामा आइरहने पात्र हुन्।

प्रसाईंले आफूलाई राजावादी दलहरुको समर्थन रहेको बताए पनि राजावादी भनेर चिनिने कुनै पार्टीले औपचारिक रुपमा उनलाई सघाउने निर्णय गरेको छैन। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यसबीचमा मुद्दा एउटै भएकाले प्रसाईंलाई आफ्नो पार्टीमा आउन र मंसिर ७ गतेको प्रदर्शनको नेतृत्व पनि आफूलाई दिन आग्रह गरेका थिए। तर प्रसाईंले त्यसलाई अस्वीकार गरेपछि आन्दोलनमा राप्रपाले नैतिक समर्थन मात्रै रहेको बताएको छ। 

एमालेः व्यक्तिविरुद्ध कि व्यवस्था विरोधीविरुद्ध? 

मंसिर ७ गते भ्रातृ संगठन युवा संघले कार्यक्रमको घोषणा गरेको भए पनि अपनत्व लिइसकेका कारण कार्यक्रमलाई एमालेकै कार्यक्रमको रुपमा हेरिएको छ। 

एमाले अध्यक्ष ओलीले मंसिर ७ को कार्यक्रम व्यवस्थाविरोधी तत्वको विरुद्धमा रहेको बताइसकेका छन् तर युवा संघका नेता बस्नेत र संघको कार्यक्रमको पछिल्लो गतिविधिलाई हेर्ने हो भने कार्यक्रम व्यवस्थाविरोधीविरुद्ध भन्दा पनि व्यक्तिविरुद्ध केन्द्रित भएको देखिन्छ। 

एमाले अध्यक्ष ओलीदेखि मझौला स्तरका एमाले नेताहरूसमेत अहिले प्रसाईंको खेदो खनिरहेका छन्। ओलीले प्रसाईंको जनप्रदर्शनले काठमाडौंमा फोहोरबाहेक अरु केही उपलब्धि हासिल नगर्ने भनेर ब्यंग्य गरे पनि प्रसाईंलाई कारबाही गर्न सरकारलाई दिएको दबाबबाट उनी भयभीत भएको देखाउँछ। 

प्रसाईंले ५० हजार मान्छे काठमाडौं उतार्ने घोषणा गरेका छन्। झापा ओलीको गृहजिल्ला पनि हो। अर्को निर्वाचनमा ओलीलाई झापाबाट हराउने उद्घोष पनि उनले गरेका छन्। सोही कारण पनि एमाले प्रसाईंसँग तर्सिएको देखिन्छ।

एमालेले व्यवस्था जोगाउन मंसिर ७ को कार्यक्रम राखेको बताइरहेको छ तर एमालेले व्यवस्था जोगाउन कार्यक्रम गर्न लागेको हो भने यो व्यवस्था ल्याउने अन्य दल किन एमालेसँग सडकमा उत्रिएनन् भन्ने प्रश्न पनि कतिपयले गरेका छन्। 

जबकि प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि व्यवस्था खतरामा परेको भन्दै यसलाई जोगाउन सबै दलसँग आह्वान गरिरहेका छन्। यस्तो अवस्थामा एमालेले भ्रातृ संगठन एक्लैलाई सडकमा उतार्नुले उसको विरोध व्यवस्था विरोधीविरुद्ध नभई व्यक्तिविरुद्ध भएको स्पष्ट हुन्छ। 

राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईं एउटा व्यक्तिसँग राजनीतिक दलहरु डराउनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्नतर्फ ध्यान दिनुपर्ने बताउँछन्। 

एमालेलगायत दलहरुकै कारण व्यवस्था जोखिममा परेको भन्दै उनले दुर्गा प्रसाईंको कार्यक्रममाथि क्षणिक प्रतिक्रिया दिएर एमालेले मुठभेडको स्थिति सिर्जना गरेको बताए। 

प्रसाईंले एमालेको मंसिर ७ गतेको कार्यक्रम व्यवस्था जोगाउन नभई व्यक्तिगत कारणले राखिएको बताए। ‘एमालेलाई व्यवस्थाको माया लागेको भए बुझेर कदम अगाडि बढाउँथ्यो। यसरी मुठभेड हुनेगरी होइन,’ उनले भने। 

एमाले अध्यक्ष ओलीले लोकतन्त्रको रक्षाको लागि कार्यक्रम गर्न लागेको भन्न नसुहाउने बताए। ‘हिजो आफैँ संविधानविरोधी काम गरेका ओलीले आज संविधानको माया लाग्यो भन्न सुहाउँछ?’, उनले प्रश्न गरे।

उनले दुर्गा प्रसाईंको कदम गलत भए पनि राजनीतिक दलहरुकै कारण यस्तो अवस्था सिर्जना भएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.