|
प्रतीकात्मक तस्वीर

गौर : स्यालको टोकाइबाट रौतहटमा १२ जना मानिस घाइते भएका छन्। जिल्लाको गढीमाई नगरक्षेत्रमा १२ जना घाइते भएका हुन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी एक महिलालाई वीरगञ्ज रेफर गरिएको छ।

गढीमाई नगरपालिका–७ का गोठालाहरू बिहीवार साँझ घाँस काट्न खेतमा गएका वेला उखुघारीबाट एक्कासी आएको बहुला स्यालले आक्रमण गरी महिला बालबालिकासहित १२ जनालाई घाइते बनाएको हो।

टोकाइबाट गढीमाई–७ का ७० वर्षीय महेन्द्र महतो, ४५ वर्षीया मन्तोरिया देवी, ६० वर्षीया तेतरी खातुन, ४० वर्षीया जयबुल खातुन, १५ वर्षीया मनीषा कुमारी, ५५ वर्षीया उषा देवी, २७ वर्षीय रामविनय बैठा, ३५ वर्षीया दुखीया देवी, ३० वर्षीया बिना देवी, ९ वर्षीय श्रवण कुमार, ७२ वर्षीया सिकीलावा देवी र ७० वर्षीय जयल मुखिया घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताएका छन्।

स्यालको आक्रमणबाट गढीमाईको धर्मपुर, धनहारी र लक्ष्मीपुर टोल, मुसहरी टोलका महिला पुरुष बालबालिका घाइते भएका हुन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी ६० की तेतरी खातुनलाई राति नै एम्बुलेन्सबाट थप उपचारार्थ नेशनल मेडिकल कलेज वीरगञ्ज पठाइएको थियो। खातुनको नाकमुखमा गहिरो खत बनाएकाले प्रादेशिक अस्पताल गौरमा गतराति सामान्य उपचारपछि वीरगंज पठाइएको डिएसपी खनालले जानकारी दिए।

स्यालले टोकेपछि लगाइने खोप स्थानीय अस्पतालमा उपलब्ध नभएकाले घाइते सबैजना प्रादेशिक अस्पताल गौर पठाइएको थियो।

घाइतेमध्ये अधिकांश हाल प्रादेशिक अस्पताल गौरमा रहेका छन् भने केही बिरामी उपचारपछि घर फर्केका छन्। स्यालले जथाभावी टोक्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.