|

चितवन : मतगणना विवादका कारण झण्डै २ दुई महिनादेखि सेलाएको चुनावी चर्चा सर्वोच्चको फैसलापछि एकाएक चुलिएको छ। निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै सर्वाेच्चले भरतपुर- १९ मा पुनः मतदानको फैसला गरेपछि दलका नेता/कार्यकर्ता सोमबारदेखि नै चुनावी अभियानमा लागेका छन्।

भरतपुर– १९ मा पुनः मतदान हुने भएपछि भोट माग्न आउनेक्रम फेरि सुरु भएको छ। मतदाता सर्वोच्चको फैसलापछि अब आफ्नो जनप्रतिनिधि चुन्ने फैसला आफैँ गर्न आतुर छन्। ‘सर्वाेच्चको त फैसला आयो, अब फैसला गर्ने पालो १९ का जनताको,’ स्थानीय मतदाता राजुभक्त लम्साल भन्छन्। चुनावको मिति पनि चाँडै तोकिनु पर्ने उनको भनाइ छ।

अर्का मतदाता उदयराज पराजुली आज खासै माहोल नतातिसकेको बताउँछन्। पहिलेजस्तो चुनावी प्रचारमा नेता÷कार्यकर्ता आज नदेखिएको बताउँदै पराजुली भन्छन्, ‘आउँदै होलान् नेताहरु, सर्वाेच्चले त निर्णय गर्‍यो, अब भरतपुर–१९ का मतदाताले कहिले निर्णय गर्ने हो!’

नेपाली कांग्रेसको समर्थनमा (माओवादी केन्द्र) का तर्फबाट भरतपुर महानगरको प्रमुखका उम्मेदवार रेणु दाहाल सोमबार बिहानै भरतपुर–१९ पुगिन्। दाहाल सर्वाेच्चको फैसला स्वागतयोग्य रहेको भन्दै मतदाताकोमा पुगेकी हुन्।

सोमबारदेखि नै पार्टीले चुनावी अभियान सुरु गरेको माओवादीका महानगर संयोजक ईश्वर सापकोटाले बताए।

यता, एमाले चितवन भने केन्द्रको निर्देशन पर्खिएर बसेको छ। आफूहरु केन्द्रको निर्देशनअनुसार अघि बढ्ने एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र खड्का बताउँछन्। चुनावमै पनि वास्तविकता बुझेर मतदाताले एमालेलाई राम्रो सहयोग गर्ने उनको अपेक्षा छ।

सोही वडाका नेता/कार्यकर्ता चुनावी अभियानमा सक्रिय रहे पनि एमाले उम्मेदवारहरु भने सर्वोच्चको फैसलापछि मतदाताकोमा पुगेका छैनन्।

महानगर प्रमुखका दुई उम्मेदवार देवीप्रसाद ज्ञवाली र रेणु दाहालको कडा प्रतिष्पर्धाका बीच मतगणना चल्दै गर्दा गत जेठ १४ गते राति पौने १२ बजे दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए। निर्वाचन आयोगले पुनः मतगणनाको निर्णय गरेपछि भरतपुर– १९ का वडा सदस्यका एमाले उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

विक सर्वोच्चको फैसलासँग खुसी छैनन्। तै पनि अदालतको आदेशको सम्मान गर्दै आफूहरु चुनावमा जाने उनी बताउँछन्।

सर्वाेच्चको फैसलापछि प्रतिक्रिया दिएका एमाले उम्मेदवार ज्ञवालीले त्यसलाई त्रुटिपूर्ण भन्दै चुनावमा गएर जनताको मन जित्ने बताएका थिए। माओवादी उम्मेदवार दाहालले भने फैसला स्वागतयोग्य रहेको बताएकी थिइन्।

कांग्रेस र माओवादी केन्द्रले फैसलाअगावै एक चरणको चुनावी अभियान सम्पन्न गरिसकेका छन्। कांग्रेसको राम्रो प्रभाव रहेको मानिएको यस वडामा माओवादीले महानगर प्रमुख बाहेक अन्य सबै पदमा कांग्रेसलाई समर्थन गरेको घोषणा गरिसकेको छ। कांग्रेसले मंगलबारदेखि अर्को चरणको चुनावी अभियान सुरु गर्ने तयारी गरेको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए।

नेकपा एमाले चितवनले भने मतपत्र च्यातेको विषयमा मतदातालाई जानकारी दिन भन्दै भण्डाफोर कार्यक्रममार्फत चुनावी अभियान चलाएको थियो । 

एक हप्ताभित्र निर्वाचन गर्ने तयारी 

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवन एक साताभित्र पुनः मतदान गर्ने तयारीमा जुटेको छ। कार्यालयका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले सर्वाेच्चको आदेश मगाएको बताउँदै आदेश हेरेर छिट्टै निर्वाचनको मिति तय गर्ने बताए।

‘सम्भवतः आज जिल्लामा आदेश आइपुग्छ, भोलि दलहरुसँग छलफल गरेर साँझसम्ममा मिति तय गर्ने सम्भावना छ,’ घिमिरेले भने, आगामी सोमबारसम्ममा निर्वाचन गर्ने तयारीमा छौं।’ सरोकारवाला निकाय र दलका प्रतिनिधिहरुसँग बसेर छलफल गरेपछि मिति तय हुने उनलेब बताए।

यस्तो छ मतको अवस्था

२९ वटा वडा रहेको भरतपुरमा २७ वटा वडाको मतगणना सकेर २८औं वडाको रुपमा भरतपुर–१९ को मतगणना जारी रहँदा मतपत्र च्यातिएको थियो। २ हजार ८ सय ९७ मत खसेको सो वडामा घटना हुनुअघि १ हजार ८०९ मत गनेर सकिएको थियो।

जसमा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार ज्ञवालीले ४१ हजार ६४१ तथा काँग्रेस–माओवादी गठबन्धनकी दाहालले ४० हजार ९०८ मत ल्याएका थिए। मतान्तर ७३३ थियो। सो वडामा ज्ञवालीभन्दा दाहालले मात्र ५१ मत बढी ल्याएकी थिइन्। भरतपुर २० को ३ हजार ३०२ मत गन्न बाँकी नै छ।

सर्वोच्चको फैसलासँगै १९ नम्बर वडाको गनिसकिएको मत पनि बदर भएकाले अब मतान्तर ७८४ पुगेको छ। हालसम्म ज्ञवालीको आधिकारिक मत ४० हाजार ९८० तथा दाहालको ४० हजार १९६ हो। भरतपुर– १९ मा ३ हजार ७९७ मतदाता छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.