|

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला कुनै बेला कोइराला परिवारका खास पात्र थिए। गिरिजाप्रसाद कोइरालाको विश्वासपात्रका रूपमा काम गरेका सिटौला कोइराला परिवारकै कारण राजनीतिक उचाइमा पुग्न सफल भएका थिए। कोइराला परिवारसँग पारिवारिक सम्बन्ध पनि रहेका सिटौला पछिल्लो समय भने कोइराला परिवारसँग चिढिएका छन्।

कोइराला परिवारका तीन नेताहरूले वंशको राजनीति गर्न खोजेको भन्दै पछिल्लो समय सिटौला असन्तुष्ट बनेका हुन्। कोइराला परिवारको राजनीतिक विरासत थाम्दै आएका डा. शेखर कोइराला, डा. शशांक कोइराला र सुजाता कोइरालाले वंशको राजनीति गर्न खोजेको भन्दै सिटौला कोइराला परिवारसँग चिढिएका हुन्। ‘कोइराला परिवार भन्दैमा वंशले राजनीति चल्दैन’ भन्दै उनी पछिल्लो समय कोइराला परिवारको आलोचनामा उत्रिएका छन्। 

हुनत कांग्रेसभित्र सिटौलाले मात्र होइन, सबै शीर्ष नेताहरूले सुशील कोइरालाको निधनपछि भने पछिल्लो पुस्ताका तीन नेतालाई ‘लिडर’ मन्दैनन्। कोइराला परिवारसँगै काम गरेर आएका नेताहरू रामचन्द्र पौडेल, सिटौला, अर्जुनरसिंह केसीलगायतले नै उनीहरूलाई नेता नमान्ने गरेको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन्। ‘सिटौलाजी असन्तुष्ट भन्दा पनि सुशील कोइरालाको निधनपछि शेखर, शशांक र सुजातालाई लिडर मान्नुहुन्न’, उनले भने, ‘परिवारको लिगेसीका आधारमै लिडर हुनुपर्छ भन्ने होइन, उहाँहरूसँग विपी, गिरिजा, सुशीलको जस्तो केही योगदान पनि चाहिन्छ।’

पछिल्लो समय विभिन्न कार्यक्रमहरूमा सिटौला लगातार कोइराला परिवारप्रति असन्तुष्टि जनाउँदै आएका छन्। विशेष गरेर मंसिर २ गते मोरङमा भएको कार्यक्रममा कोइराला परिवारका तीन नेताहरूले वंशको विरासत जोगाउने भन्दै भाषण गरेपछि सिटौला असन्तुष्ट भएका हुन्। ‘वंशको आधारमा राजनीति गरेकै भरमा उहाँहरू जन्मिँदै केन्द्रीय सदस्य हुनुहुन्छ’, एक केन्द्रीय सदस्य भन्छन्, ‘हामीचाहिँ तलैबाट संघर्ष गरेर आउनुपर्ने?’

सिटौला निकट नेताहरूका अनुसार उनी वंशको राजनीतिका विरोधी हुन्। वंशकै आधारमा अवसर पाउने कुराको उनी सधैँ विरोध गर्छन्। पछिल्लो समय कोइराला परिवारका तीन सदस्यले पार्टीलाई पुनः आफूहरूको वंशमा फर्काउन एक हुने घोषणा गरेपछि उनी त्यसको विरोधमा उत्रिएका हुन्। ‘उहाँले विरोध पनि गर्नुभएको होइन, असन्तुष्ट पनि हुनुहुन्न। उहाँ सधैँ वंशको राजनीतिको विरोध गर्नुहुन्छ’, सिटौला निकट स्रोत भन्छ, ‘पार्टी परिवारको त होइन नि! परिवारले पार्टी चल्दैन। कोइराला परिवारको सन्देशले लोकतान्त्रिक पार्टीमा असर गर्छ भन्ने लागेर उहाँले यो समयलाई उचित ठान्दै बोल्नुभएको हो।’

कोइराला परिवारसँग सिटौलाको सधैँ हार्दिकतापूर्ण सम्बन्ध रहँदै आएको छ। उनले गिरिजाप्रसाद र सुशीलसँग नजिक भएर काम गरे। तर सुशील कोइरालाको निधनपछि भने कोइराला परिवारसँग सिटौला त्यति नजिक छैनन्। त्यसलाई पार्टीको १३औँ महाधिवेशनले पनि प्रस्ट पारेको छ। उनी पार्टीको १३औँ महाधिवेशनमा भने कोइराला परिवारसँग सहकार्य नगरी सभापतिको उम्मेदवार बनेका थिए। यद्यपि उनले शेखर र सुजातालाई ‘लिडर’ नमाने पनि सम्बन्ध भने उनको राम्रै छ तर शशांकलाई भने सिटौलाले खासै मनपराउँदैनन्। 

शेखरले भने आफ्नो केन्द्रको राजनीतिको सुरुवातीदेखि नै सिटौलासँग नजिक हुँदै काम गरेका थिए। गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र सिटौलालाई गिरिजाले सारथिको रूपमा शेखरलाई उभ्याएका थिए। तर संविधान जारी गर्ने बेलामा शेखर र सिटौलाबीच मतभेद सुरु भएको थियो। सिटौला तत्काल संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा थिए भने शेखर केही समय फर्कनुपर्छ भन्ने पक्षमा थिए। 

फलस्वरूप पार्टीको १३औँ महाधिवेशनमा कोइराला परिवार रामचन्द्र पौडेल समूहबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न पुगे। तर पछिल्लो समय शेखर र सिटौलाको सम्बन्ध सुध्रिएको थियो। सिटौला समूहसँग सहकार्य गर्न आएका शेखरसँग उनले मोर्चाबन्दी गरेका थिए। सुजाताको पनि सिटौलासँग राम्रै सम्बन्ध छ तर कोइराला परिवारले केही दिनअघि ‘अब पार्टीको नेतृत्व कोइराला परिवारले गर्छ’ भनेपछि सिटौला सशंकित भएका हुन्।

पार्टीभित्र तेस्रो समूह चलाउँदै आएका सिटौला पछिल्लो समय कोइराला परिवारसँग सहकार्य गर्दै सशक्त बन्ने योजनामा थिए तर कोइराला परिवारका तीन सदस्यको यस्तो अभिव्यक्तिले सिटौलालाई झस्काएको कोइराला परिवार निकट एक नेताले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.