जुम्ला : छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको सलह कीरा जुम्ला पुगेको छ। जिल्लाको पातारासी गाउँपालिकामा सलह कीरा देखिएको हो।
पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलह कीराका झुण्ड प्रवेश गरेको भेटिएको किसानले बताएका छन्। जताततै सलह किराको बथान देखिएको बालीनालीमा पनि धेरै क्षति पुर्याएको स्थानीय किसानहरूले जानकारी दिएका छन्।
सलहले घोगा लागिसकेको मकै सखाप पार्न थालेपछि किसान चिन्तित छन्। सुरुमा छिटफुट देखिएपनि अहिले ठूलो झुण्डमा देखिन थालेका स्थानीय गोर्खबहादुर रावतले बताए। आलु र मकै बारीमा प्रवेश गरेर ठुलो नोक्सान गरेको उनले जानकारी दिए।
'सलह भगाउन विभिन्न बाजा बजाउने, मान्छे कराउने गर्छन्,' उनले भने, ‘तैपनि सलह भाग्दैन, अहिले किसानहरू सलह धपाउनै व्यस्त छन्।' गाउँपालिकामा सलह कीराको झुण्डहरु प्रवेश गरेकोले किसानलाई सचेत रहन आग्रह गरिएको छ। कृषि विकास शाखा संयोजक रुपक बुढाले सलह भगाउने खास उपाय नभएको बताए। थाल बजाउन र त्यति गर्दा पनि भाग्न नमानेको खण्डमा समातेर मार्न सुझाएको उनले बताए।
अहिले पातारानीवासीले ठूलो आवाज निकाल्ने र धुँवा जस्ता विधिबाट सलहलाई तितरबितर पार्ने प्रयास गरिरहेका छन्। ठूलो संख्यामा सलह प्रवेश गरेकोले जुम्लाको स्याउ, मकै, उवा गहुँ लगायतका रैथाने बालीमा क्षति पुगेको छ।
सलह कीराले एकै दिन १५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्याउन सक्ने विज्ञहरु बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।